Odapalika - The Fourth Estate - चौथो अंग
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्ने सम्भावना औल्याएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालमा शुक्रबारसम्म वर्षाको सम्भावना रहेको उसको भनाइ छ । 

विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने  तर अन्यत्र मौसम सफा रहने छ । 

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ

बिहीबार साँझ  काठमाडौँ उपत्यकामा पानी परे पनि आज भने पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् । सामान्य बादल देखिएपनि पानी नपर्ने उनीहरुको दाबी छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना  भने देखिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update