Odapalika - The Fourth Estate - चौथो अंग
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै

हुम्ला । जथाभावी सडक विस्तार गर्दा हुम्लाको ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्न थालेका छन् । कुनै समय खेतबारीमा सिँचाइ गर्नसमेत समस्या नहुने स्थानमा अहिले खानेपानी हाहाकार भएको छ । 
स्थानीय तहले अव्यवस्थित रूपमा जताततै सडक निर्माण गर्दा वनजंगल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था रहेको सिञ्जा-६ का काले बुढाले बताए । ‘केही वर्षपहिले ठाउँ-ठाउँमा पानीका मुहान भेटिन्थे, अहिले सब सुक्दै गएका छन्,’ उनले भने ।
वनजंगल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको सिञ्जा गाउँपालिका-५ का सोवखर बुढाले बताए । ग्रामीण क्षेत्रका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएको उनको भनाइ छ । 
यता, सिञ्जा-५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया अव्यवस्थित सडक निर्माणका कारण मुहान सुक्दा आधाघण्टा टाढा हिँड्नुपर्ने स्थिति रहेको बताउँछन् । 
यस्तै, जुम्ला सदरमुकाम खलंगामा पनि खानेपानीको समस्या भइरहेको छ । खलंगामा खानेपानीको मुहान सुक्दा करिब ९ किलोमिटर टाढाको पातारासी गाउँपालिका-६ बाट खोनेपानी आपूर्ति गरिएको छ । तर, सो मुहानसमेत खडेरीमा सुकेपछि स्थानीयलाई सास्ती भएको छ । मुहान नहुँदा खानेपानीमा अर्कै स्थानीय तहको भर पर्नुपरेको खलंगा खानेपानी उपभोक्ता समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख अर्जुन बरालले मुहान सुक्दा पानीको समस्या भएको बताए । पहिले २०० धाराका लागि मात्र खानेपानी आयोजना बनाइए पनि हाल १ हजार ६५० धारा पुगेको उनले बताए । 
बडेखोलीको मुहानमा ३ वटा पानीको मुहान मिसाइएको छ । भौगोलिक बनावट र जनसंख्या वृद्धिका कारण खलंगामा दिनप्रतिदिन खानेपानीको अभाव हुँदै गएको प्रमुख बरालले बताए । 
चैतदेखि असारको पहिलो सातासम्म खलंगामा पानी पुर्‍याउन समस्या रहेको उनको भनाइ छ । पछिल्लो समय तातोपानी, चन्दननाथ र गुठीचौर गाउँपालिकालाई पुग्ने गरी धौलिगाड बृहत् खानेपानी आयोजनाको काम सुरु भइरहेको छ । बढ्दो शहरीकरण र जनसंख्या वृद्धिका कारण पानीको माग बर्सेनि बढ्दै छ । परापूर्वकालदेखिका पानीका मुख्य स्रोत मुहान, धारा, कुवा, ढुंगेधारा आदि भने सुक्दै गएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update