Odapalika - The Fourth Estate - चौथो अंग
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर 

काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बुढानीकलण्ठमा सरकारी जग्गा हडपेको पाइएको छ । उनी पूर्वराज्यमन्त्रीसमेत हुन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को चपलीमा उनले २ रोपनीभन्दा बढी सरकारी जग्गा हड्पेको पाइएको नगरपालिकाले जनाएको छ । 

डा. लामाले चपलीमा निजी निवास बनाउँदा सरकारी जग्गा हडपेको दाबी गर्दै नगरपालिकाले जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराउन आग्रह गरेको छ । 

नगरपालिकाले डा. लामाले सरकारी जग्गा लिएको भन्दै जग्गाको विवरण उपलब्ध गराउन पत्र पठाउँन कुनै जवाफ नपाएको जनाएको छ । 

नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बुधबार पुनः लामालाई पत्र पठाइएको जानकारी दिए । ‘हामीले यसअघि गत माघ १४ गते उहाँलाई पत्र पठाउँदै जग्गाको यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेका थियौँ, १ महिना हुनलाग्दा सम्म उहाँले पत्रको जवाफ नपठाएपछि बुधबार पुनः हामीले ७ दिनको समय राखेर पत्र पठाएका हौँ’, उनले भने । 

उनले बुधबारको पत्रको जवाफ समयमै नआए नगरपालिकाले कानुनी प्रक्रियामा जाने तयारी गरेको बताए । ‘यस नगरपालिकाको च.नं. १९५१, मिति २०८०/१०/१४ को पत्र प्राप्त गरी ब्यहोरा अवगत भएकै होला । तत् सम्बन्धमा वडा नम्बर २ स्थित सिट नं. १०२०९०७–१० ९ साबिक चपली ‘क’ सिट नं. १९० को कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिनू’, बुधवार पठाइएको पत्रमा उल्लेख छ । 

नगरपालिकाले लामालाई कित्ता नं. २६ को जग्गासँगै सार्वजनिक जग्गा प्रयोग भए/नभएको यकिन विवरण पनि उपलब्ध गराउन भनेको हो । 

वडाको निष्कर्ष : लामाले २ रोपनी १ आना जग्गा हडपे 

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ ले लामाले २ रोपनी १ आना सरकारी जग्गा हडपेको निष्कर्ष निकालेको छ । उनले जग्गा लिएको आशंका गर्दै वडाले नापी कार्यालय र मालपोत कार्यालयबाट आवश्यक कागजात मगाएको थियो । 

नापी र मालपोतबाट आएको कागजात मगाएर अध्ययन गर्दा २ रोपनी १ आना हाराहारीमा सरकारी जग्गा लामाले ओगटेको भेटिएको थियो । सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाका लागि परेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update