Odapalika - The Fourth Estate - चौथो अंग
बाटो पिच नभएपछि जिसस प्रमुख नै बसे आमरण अनसनमा 

काठमाडौँ । निर्माण व्यवसायीले समयमै सडक निर्माण नगरेको बिरोधमा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजबाट आमरण अनसनमा बसेका छन् । 

धुलिखेलबाट खावा जाने ४ किलोमिटर सडक पिच गर्ने समयावधि सकिन लाग्दासमेत सडक नबनेको भन्दै बिरोधस्वरुप उनी आजबाट अनसनमा बसेका हुन् । 

धुलिखेलवाट पाँचखाल तर्फ जाने सडकखण्डको खावा भन्ने स्थानसम्म सडक कालोपत्रे गर्न गौरी पार्वती निर्माण सेवाले ठेक्का लिएको थियो । २२ महिनामा सक्नुपर्ने सडकको म्याद आगामी चैतमा सकिदैछ । तर गौतमका अनुसार हाल १० प्रतिशत पनि भौतिक प्रगति भएको छैन । 

सडकमा अधिक खाल्डाखुल्डीका कारण यो सडक खण्डमा दैनिक सवारी दुर्घटना भइरहेका छन् । गौतमका अनुसार दैनिक १०० भन्दा वढी मोटरसाइकल मात्र यो सडक खण्डमा दुर्घटनामा पर्न थालेका छन् । 

‘संघदेखि प्रदेश सरकारसम्म गुहार्दा पनि काम भएन । ठेकेदारले काम नै गरेन, सर्वसाधारणको ज्यान जाने भएपछि ती सर्वसाधारणको जयान जोगाउन एक आम नागरिकको हैसियतमा म आमरण अनसनमा बसेको हुँ,’ गौतमले वडापालिकासँग भने । 

उनी यो सडक खण्डमा पर्ने जीपलाइन नजिकै सडकमै अनसनमा बसेका छन् । सडक निर्माण समयमै सम्पन्न गर्ने ज्ञारेन्टी नभएसम्म आफूले अनसन नतोड्ने उनले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update