Odapalika - The Fourth Estate - चौथो अंग
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे

काठमाडौँ । देशमा हाल मनसुनी वायुको प्रभाव हुदाँ देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रही देशका पहाडी र बाँकी भू भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यसको साथै लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ ।

उता अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् । ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प रहेका छन् । 

बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन ।  बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update