Odapalika - The Fourth Estate - चौथो अंग
के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनुअघि नारायण चौरबाट पैदल मार्गको यात्रा गर्दै प्रदुषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो । 

वायु प्रदुषण कम गर्नको लागि सवारी साधन प्रयोग नगर्दा पनि हुने ठाउँमा हिड्ने सस्कृतिको विकास गर्न आवश्यक रहेको कार्यक्रमका प्रवक्ता नविन मानन्धरले बताए ।

‘वायु प्रदुषण बढाउने प्रदुषक तत्वमध्ये सवारी साधन मुख्य कारण हुन् । यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप गर्नु अभियानमा हुनेछन्,’ कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भने ।

काठमाडौँको सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पु¥याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवर्धन गर्ने लक्ष्य यस कार्यक्रमको रहेको मानन्धरको भनाइ छ ।

अभियान सुरु गर्दै वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले विकासका नयाँ काम थाल्नु अगाडी सम्पदा र यससँग सम्बन्धित सांस्कृतिक र सामाजिक क्रियाकलाप बढाउनु पर्ने बताए ।

‘विकासका नयाँ काम थाल्नु अगाडि सम्पदा र यससँग सम्बन्धित सांस्कृतिक र सामाजिक क्रियाकलाप बढाउनुपर्छ । पुनःस्थापनाका आयाम र सरोकारवालाको सहभागिता सुनिश्चित गर्नका लागि हामी अध्ययन गरिरहेका छौँ,’ वडाध्यक्ष प्रजापतिले भने ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ । 

‘यस दिन हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ । यसबाट स्थानीयहरुको आयमा टेवा पुग्न थालेको छ,’ प्रजापतिले भने ।

यसका लागि युएसएडको स्वच्छ हावा परियोजनासँग सम्बन्धित एन्फोलगायत संघ संस्थाहरुले, स्थानीय कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि सूचना तथा जानकारीमूलक छलफल र प्रदर्शनी गर्ने गरिएको छ । 

काठमाडौँ उपत्यकामा वायु प्रदुषण सुधार गर्ने कार्यक्रमका बारेमा युएसएडका स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको बताए । सडकमा साइकल गुडाउँदै गरेका र निर्वाध दौडिरहेका बालबालिका देखाउँदै तुलाधरले भने ‘सडकमा सवारी साधन नभएपछि यी बालबालिकाले सडकमा निर्वाध निस्कन पाएका छन् । नत्र भए उनीहरु अभिभावकको दबाबमा कोठामा थुनिएका हुन्थे । मोबाइल चलाएको, टिभी हेरेको भनेर अभिभावकबाट गाली खाइरहेका हुन्थे ।’

के कारणले सहरको वायु प्रदुषण भइरहेको छ । यसका असर कस्ता हुन्छन्, असर कसरी घटाउन सकिन्छ, स्थानीय अवस्था र आवश्यकताका विषयमा उपत्यका विभिन्न ठाउँहरुमा कुरा हुनेछ । समस्या समाधानका विधि, विधि अबलम्बन गर्ने प्रक्रिया, गरिएका निर्णयको कार्यान्वयन र थालिएका कार्यक्रमको निरन्तरताका विषयमा छलफल गरिनेछ । 

महानगरपालिकाकी पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधान भन्छिन् ‘वायु प्रदुषण सम्बन्धी कानुनी प्रबन्ध, नागरिक समाजको बुझाइ, साझेदारको सम्लग्नतालगायत पक्षमा कुरा गर्दा समस्या समाधानमा सहभागिता बढ्नेछ ।’ 

प्राडा सुदर्शनराज तिवारीका अनुसार हाँडीगाउँको अंशुवर्मा डवली सहरी सभ्यता विकास भएको ठाउँ हो । कालीगढीसँगै मानवीय चालचलन सम्पदासँग सम्बन्धित पक्ष हुन् । 

तिवारीले भने ‘अभियानबाट मानदेवको पालाभन्दा ३ सय बर्ष अगाडिको सभ्यता जोगाउन मद्दत पुग्नेछ ।’ 

डा. अनिल सुवेदी (इन्टरनल मेडिसिन) ले वायु प्रदुषणका कारण नेपालीको औसत आयु ४ बर्षले घटिरहेको उल्लेख गरे । यो घद्दै गएको औसत आयु बढाउन वायु प्रदुषण घटाउनु पर्नेमा उनको जोड थियो । 

विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिस मर्छन् । नेपालमा ४२ हजार १ सय र काठमाडौँमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण हो । 

निर्माण सामाग्री र सवारीबाट उत्पादन भएको प्रदुषक तत्वमा पाइने नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकका टुक्रा समेत पाइने गरेका छन् । यी तत्व एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सक्छन् । यस्तै मानिसको फोक्सोसम्म सजिलै पुग्न सक्छन् । 

वायु प्रदुषण पिएम २.५ मा मापन हुन्छ । यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो । जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन् । पीएम १० भन्दा ठूला कणहरु सरिरभित्र पस्न सक्दैनन् । पीएम १ भन्दा साना कण फोक्सोमा पुग्न सक्छन् । यसभन्दा साना कणहरु रगतमा समेत मिसिने खतरा हुन्छ । यसैकारण वायु प्रदुषण वातावरणीय मात्र होइन जनस्वास्थ्यजन्य समस्या पनि हो । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update