Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले वडा वडामा उत्पादन भएका मौलिक बस्तुलाई अन्तरराष्ट्रिय बजारमा खपतयोग्य बनाउन काठमाडौँ महानगरपालिकाले लगानी गरिरहेको बताएकी छिन् ।

वडा नं. २३ ले आयोजना गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिमको समापन अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन् । तालिम गएको पुस २१ गतेदेखि हरेक शनिवार प्रशिक्षण चल्दै आएको थियो ।   

‘उद्यमशील तालिम क्षमता बढाउन लागि मात्र होइन । व्यापार बढाउने सञ्जाल विकास गर्न, बजारीकरण सिप बढाउन र आय वृद्धिका लागि पनि हो । तालिमबाट प्राप्त गरेको ज्ञान र सिपलाई निरन्तर अभ्यास गरेर उत्पादनको मात्रा र स्तरमा सुधार हुनेछ । विक्रीमा वृद्धि भएर आय थपिनेछ । महानगरपालिकाको लगानी यसका लागि हो,’ उपमेयर डंंगोलले भनिन् ।

स्थानीय उत्पादनलाई निर्यातमा जोडेर काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले तालिम चलाएको थियो । अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी ज्ञान र सिप दिएर निर्यातमा प्रोत्साहन गर्न तालिम चलाइएको थियो । 

‘वेकरी, कफी बनाउने, फोटोग्राफीसहित सिपमुलक तालिमसँगै चालु आर्थिक बर्षभित्र हामी कोसेली घर बनाउँछौँ । वडास्तरीय उद्यमी मेला गरेर उत्पादनको सम्भावना पत्ता लगाउँछौँ । हामीले प्रदान गर्ने सिपमूलक तालिमबाट गुणस्तरीय उत्पादन बृद्धि हुने, रोजगारी सिर्जना हुने अपेक्षा गरेका छौँ,’ वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले भने ।

तालिमका सहभागीहरुले अभिभावकको व्यापारमा सहयोग गर्न, आफैँ व्यापारी बन्न, लगानीकर्ताहरु मिलेर व्यापार गर्न तालिममा सहभागी भएको र तालिम जीवन उपयोगी भएको धारणा राखे ।

तालिममा बजारको मागका विषयमा जानकारीतथा सूचना लिने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउने, आकर्षक प्याकेजिङ्, लेभलिङ्ग, बजारीकरणको सिप, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा थाहा पाउने, उत्पादित बस्तुको मेला र प्रदर्शनी गर्नेलगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक सिप सिकाइएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update