Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकसँग मिलेर सहकारीको अनुगमनमा निस्कियो विभाग, भोलीदेखि उपत्यका बाहिर जाने

काठमाडौँ । नेपाल राष्ट्र बैंकसँग मिलेर सहकारी विभागले ठूला सहकारीको अनुगमन सुरु गरेको छ । आइतबार काठमाडौँ उपत्यकामा रहेका सहकारीको अनुगमनमा निस्कियको विभागले भोलीदेखि उपत्यका बाहिर भएका सहकारीको अनुगमन गर्ने जनाएको छ । 

राष्ट्र बैंकले सहकारीको अनुगमनमा प्राविधिक सहयोगका लागि उपनिर्देशक डा. रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेललाई पठाएको छ । 

विभागले उपनिर्देशक टोलराज उपाध्यायको संयोजकत्वको टोली र राष्ट्र बैंकले पठाएको टोलीले तीन समूह बनाएर उपत्यकाभित्र रहेका सहकारीको संयुक्त अनुगमन सुरु गरेको हो । 

उक्त अनुगमन टोलीले राम्रा र नराम्रा दुइटै किसिमका सहकारीको अनुगमन गर्नेछ । ‘सहकारीमा केही समस्या छ भने सुधारका लागि निर्देशन दिन्छौं, ठूलो गल्ति गरेको छ भने कारबाहीका लागि सिफारिस गर्छौं, राम्रा सहकारीको पनि अनुगमन गरेर तिनको अभ्यास अन्य सहकारीलाई पनि यस्तो गर भनेर सल्लाह दिन्छौं,’ उपाध्यायले भने ।

उपनिर्देशक उपाध्यायले राष्ट्र बैंकका प्रतिनिधि सहितको टोली अनुगमन निस्किएको जानकारी दिए । उनले आइतबार काठमाडौँ उपत्यकामा रहेका ठूला सहकारीको अनुगमन गरी सोमबारदेखि उपत्यका बाहिर जाने तयारी भएको जानकारी दिए । 

उक्त टोलीले गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, आइडियल यमुना बचत तथा ऋण सहकारी, गौतम श्री बहुउद्देश्यीय, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लगायतको अनुगमन गर्नेछ । 

यसअघि सहकारीको समस्या पहिचान र समाधानका लागि भनेर सरकारले बनाएको कार्यदलले राष्ट्र बैंकले ठूला सहकारीको नियमन गर्नु पर्ने सुझाव दिएको थियो । सोही सुझाव अनुसार केही साताअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस पनि गरेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update