Odapalika - The Fourth Estate - चौथो अंग
४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास

काठमाडौँ । विगत ४ वर्षदेखि अलपत्र परेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अस्पताल निर्माणले गति लिएको छ । 

गाउँपालिका अध्यक्षमा कमलेश चौधरीले अस्पताल निर्माणका लागि नयाँ टेण्डर आव्हान गरेर बजेटको सनिश्चितता गरेपछि अस्पताल निर्माणले गति लिएको हो । गाउँपालिकाले गत वर्ष सो अस्पताल निर्माणका लागि टेण्डर गरेको थियो ।

गत वर्ष टेण्डर गरेर ठेकेदार छनोट भइसकेको र अहिले अस्पताल निर्माणले गति लिएको अध्यक्ष चौधरीले जानकारी दिए । सो अस्पताल गाउँपालिकाको वडा नम्बर ३ मा बनिरहेको छ ।

‘हामीले गत वर्ष टेण्डर गरेका थियौं । १९ करोड रुपैयाँको लागतमा अस्पताल बन्दैछ । भवन निर्माणको हात्तिपाइलेसम्म बनिसकेको छ । अबको २ वर्षभित्रमा बनिसक्नुपर्ने गरी ठेक्का लागेको हो । तोकिएकै समयमा सकिन्छ होला,’ अध्यक्ष चौधरीले वडापालिकासँग भने ।

सरकारले प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति लिएको थियो । सोही नीति अनुसार शुद्धोधन गाउँपालिकामा पनि १५ शैय्याको अस्पताल बन्नुपर्ने अवस्था थियो । तर, १५ शैय्याको अस्पताल बनाउन जमिन नपुग्ने भएपछि घटाएर १० शैय्याको बनाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

सो अस्पताल बनाउनको लागि संघ सरकारले १० करोड रुपैयाँ बजेट विनियोज गरेको छ । बाँकी रहेको ९ करोड रुपैयाँ गाउँपालिकाले लगानी गर्नेछ । सो रकम पनि गाउँपालिकाले ३ आर्थिक वर्षमा ३/३ करोड रुपैयाँका दरले गर्ने अध्यक्ष चौधरीको भनाइ छ । 

kamalesh-chaudhari1708858310.jpg

सो अस्पताल ४ वर्ष अघि गाउँपालिकाका तत्कालीन अध्यक्ष निसार अहमद खाँले शिलान्यास गरेका थिए । तर, शिलान्यास भएपनि अस्पताल निर्माणले गति लिएको थिएन । 

२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि अध्यक्षमा चौधरी निर्वाचित भए । उनले निर्वाचित भएर आए लगत्तै अस्पताल निर्माणको लागि टेण्डर गरे । गाउँपालिकाले गरेको टेण्डर निर्माण कम्पनी इन्नोभेटिभ क्रियसन कन्स्ट्रक्सन एण्ड मोडलिङ प्रालिे पायो । ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी पाएको सो टेण्डर अनुसार निर्माण कम्पनीले काम गरिरहेको छ ।

अहिले निर्माणको काम हात्तिपाइलेसम्म सम्पन्न भएपछि अध्यक्ष चौधरीले फागुन १० गते सो अस्पतालको शिलान्यास गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update