Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार 

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि स्थानीय तहमा दोस्रोपटक जनप्रतिनिधि निर्वाचित भएर काम गरिरहेका छन् । 

दोस्रो पटक निर्वाचित भएर आएका जनप्रतिनिधिले अघिल्ला जनप्रतिनिधिले गरेका कामको जगमा उभिएर अघि वढिरहेका छन् भने अधिकांशले अघिल्ला पालिका प्रमुख र अध्यक्षहरुले गरेका कामको निरन्तरता दिइरहेको बताएका छन् । 

तर देशभरका ७५३ वटै स्थानीय तहले अघिल्ला कार्यकालका जनप्रतिनिधि को थिए भन्ने सार्वजनिक रेकर्डसम्म राख्ने गरेका छैनन् । 

स्थानीय तहमा अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य सम्मिलित सभा र कार्यपालिका छ भने अध्यक्ष र प्रमुखले स्थानीय सरकारको प्रमुखका रुपमा काम गर्छन् । 

स्थानीय सरकारहरुका आफ्नै वेबसाइट छन्, जहाँ बर्तमान जनप्रतिनिधि, कर्मचारीदेखि सम्बन्धित स्थानीय तहले गरेका कामको फेहरिस्त राखिएको हुन्छ । 

तर कुनैपनि स्थानीय तहका वेबसाइटमा पूर्वजनप्रतिनिधि को थिए भन्ने विषयमा कतै उल्लेख छैन । 

संघीय सरकार  र प्रदेश सरकारका आधिकारिक वेबसाइटमा वर्तमान सरकार प्रमुखमात्र नभइ पूर्वप्रमुखहरुको समेत नामसहितको चिनारी दिने चलन छ । जसका कारण यसअघि ती सरकारहरुको नेतृत्व कसले गरेर भनेर विश्वभरका जनताले थाहा पाउँछन् । 

तर स्थानीय सरकारहरु सम्बन्धित पालिकाका पूर्वप्रमुखहरुको नाम र परिचय राख्न चुक्दा देशभरका स्थानीय तहमा अघिल्लो कार्यकाल कसले नेतृत्व गरेको थियो भन्ने जानकारी लिनबाट सर्वसाधारण बञ्चित भएका छन् । 

जवकी स्थानीय तहका वेबसाइटमा पूर्वकर्मचारीहरुको विवरण भने सबैले राख्ने गरेका छन् । स्थानीय तहका प्रमुख र अध्यक्षहरु संघीय मामिला मन्त्रालयले उपलव्ध गराएको वेबसाइटको टेम्प्लेटमा पूर्वजनप्रतिनिधिको नाम र परिचय लेख्ने ठाउँ नभएका कारण अघिल्ला जनप्रतिनिधिको परिचय राख्न नसकिएको बताउँछन् । 

काठमाडौँ महानगरपालिकाबाहेक देशभरका सबै स्थानीय तहले संघीय मामिला मन्त्रालयमार्फत उपलव्ध भएको वेबसाइटकै टेम्प्लेट प्रयोग गरिरहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update