Odapalika - The Fourth Estate - चौथो अंग
७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ दिनभित्र ललिता निवासको जग्गा खाली गर्न जारी गरेको सार्वजनिक सुचना अलपत्र परेको छ । 

महानगरपालिकाले फागुन ९ गते एक सार्वजनिक सुचना प्रकाशित गरी वडा नम्बर ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको थियो । सार्वजनिक सूचनामा ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरिएको थियो ।

महानगरले दिएको ७ दिने सुचनाको म्याद सकिन लागे पनि ललिता निवास कम्पाण्डभित्र बनेको गैरआवाशीय नेपाली संघको भवन र त्यसमा रहेको नेपाल राष्ट्र बैंकका विभागहरु सर्ने तयारीमा छैनन् । महानगरले दिएको ७ दिनको छोटो समयमा भवन खाली गर्न सम्भव नहुने र आफूहरुले सरकारी निकायबाट स्वीकृति लिएर जग्गा खरिद गरी भवन बनाएकोले त्यसका बारेमा थप छलफल आवश्यक देखिएकोले पनि तत्काल खाली गर्न नसकिने संघका उपाध्यक्ष डा. हेमराज शर्मा बताउँछन् ।

...संसारभर छरिएर रहेका गैरआवाशीय नेपालीले दिएको रकमबाट जग्गा किनेर भवन बनाइएको हो । अहिले सो जग्गा सरकारी हुने भनेर विशेष अदालतले फैसला गरेको भन्ने सुनिएको छ । फैसलाको पूर्ण पाठ आएको छैन । सरकारी निकायबाट स्वीकृति लिएर जग्गा किनेको र भवन बनाएको हो । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ । त्यसैले ७ दिनभित्रमा भवन खाली गर्ने सम्भावना देखिदैन, सकिदैन, उपाध्यक्ष शर्माले वडापालिकासँग भने ।

Lalita Niwas Make Free1708874337.jpg

संघले ललिता निवासभित्र बनाएको भवन नेपाल राष्ट्र बैंकका ३ वटा विभाग रहेका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग, मुद्रा व्यवस्थापन विभाग र वित्तीय जानकारी इकाई सोही भवनमा छन् । यस्तै, राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका केही इकाइहरु पनि सो भवनमा भाडामा छन् ।

आफूहरुले नियम अनुसार सम्झौता गरेर निश्चित अवधिको लागि विभागहरु राखेकोले ७ दिनको छोटो अवधिमा विभाग सार्न सम्भव नहुने राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल बताउँछन् ।

...नेपाल राष्ट्र बैंक भाडा तिरेर बसेको हो । भाडामा लगाउने संस्थाले हामीलाई औपचारिक रुपमा केही भनेको छैन । भने पनि ७ दिनभित्रै सर्न गाह्रो हुन्छ होला । अहिलेसम्म सर्नको लागि कुनै प्रक्रिया पनि सुरु गरेका छैनौं, सहप्रवक्ता डा. पोखरेलले वडापालिकासँग भने ।

यद्यपि, काठमाडौँ महानगरले भने ७ दिनभित्रमा ललिता निवास क्षेत्र खाली गर्न भनेको थियो ।

‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ ।

तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने सुचनामा उल्लेख थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update