Odapalika - The Fourth Estate - चौथो अंग
बुटवल उपमहानगरमा यसरी शुरू भयो दादुरा-रुबेलाविरुद्धको खोप अभियान

बुटवल । बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ । आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरे । 

उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए । उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे । 

उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गरिन् । 

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइनेछ । जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update