Odapalika - The Fourth Estate - चौथो अंग
१८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी 

काठमाडाैँ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको सबैखाले तयारी पूरा भएको जनाएको छ । १८ फागुनदेखि मनाउन लागिएको भरतपुर भ्रमण वर्ष नारायणी नदी किनारमा गर्ने महानगरको भनाइ छ ।

मेयर रेनु दाहालका अनुसार महानगरले निजी क्षेत्रसमेतको सहभागितामा भरतपुरको पर्यटन प्रर्वद्धन गरी आन्तरिक आय वढाउन भ्रमण वर्ष गर्न लागेको हो । 

नगरको भौतिक पूर्वाधारको विकास सँगसँगै यहाँका जनताको जीवनमा प्रत्यक्ष सरोकार राख्ने र फाइदा हुने कामलाई प्राथमिकतामा राखेको बताउँदै मेयर दाहालले यो अवधिमा भरतपुरका पर्यटकीय क्षेत्रहरुमा पर्यटककहरुको सहज उपस्थितिका लागि सहजीकरण गर्ने बताइन् । 

‘२९ वटा वडा रहेको भरतपुरमा सुर्योदयदेखि सुर्योस्तसम्मका रोमाञ्चकारी दृश्यको अनुभूति गर्ने पर्यटकीय स्थलहरु छन् । एक सिँगे गैडा, बाघ, हात्ती, मृग, चितल, मयुरलगायतका पशुपक्षी देखाउन चितवन राष्ट्रिय निकुञ्जसँगै सामुदायिक बनहरुमा समेत पर्यटक लैजाने महानगरको योजना छ,’ दाहालले भनिन् । 

उनकाअनुसार भरतपुर भ्रमण वर्षलाई लक्षित गरेर यसपटक एतिहासिक दियालो बंगला पर्यटकका लागि खुला गरिदै छ । महोत्सवमा आउने पाहुनालाई देवनगरमा ‘ओपन जु’ निर्माण गरेर बाघ देखाउने व्यवस्था गरिएको उनको भनाइ छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भ्रमण वर्ष भारतपुरको मात्र नभइ सिंगो चितवन र आसपासका क्षेत्रको समेत पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । 

‘विकाशको तिव्र गतिमा रहेको भरतपुर महानगरले सिंगो चितवनको प्रवद्र्धन गर्ने महान सोच राखेर गरिएको भ्रमण वर्षको उद्घाटन समारोहमा घर–घरबाट नारायणी नदी किनारमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु,’ दाहालले  सार्वजनिक सन्देशमार्फत आह्वानसमेत गरेकी छन् । 

यसैबीच, भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटनस्थल नारायणी नदी किनारको मेयर दाहालसहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । 

भरतपुर भ्रमण वर्षको उद्घाटन स्थलमा अहिले धमाधम स्टेज निर्माण, दुबो रोप्ने काम, सरसफाई, खानेपानीको व्यवस्थापन, शौचालयको व्यवस्थापन लगायतका काम जारी छन् । 

उद्घाटन कार्यक्रममा भरतपुर महानगरले करिब ५० हजार जनाको सहभागिता रहने जनाएको छ । मेयर दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतका उच्चस्तरीय टोली भ्रमण वर्ष सफल पार्न अहोरात्र खटेको मेयरको सचिवालयको भनाइ छ । 

उद्घाटन कार्यक्रमको मञ्चको काम १६ फागुनसम्ममा निर्माण भइसक्ने महानगरको आन्तरिक व्यवस्थापन शाखाले जनाएको छ । यस्तै नारायणी किनारलाई सरसफाईयुक्त बनाउन महानगरबाट नगर प्रहरीको नेतृत्वमा निरन्तर काम भइरहेको छ । 

नारायणगढको लायन्सचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म कालोपत्रेका लागि प्राईम हाल्ने काम भइरहेको छ । उद्घाटन कार्यक्रम अघि धुलो नउड्ने गरी सडक निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update