Odapalika - The Fourth Estate - चौथो अंग
महिलाले गरिरहेका छन् काठमाडौँ महानगरका ४ महाशाखा र ६ विभागको नेतृत्व 

काठमाडौँ । देशको राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाको महत्वपूर्ण विभाग र महाशाखाको नेतृत्व महिलाले गरेका छन् ।

युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि महानगरका ४ महाशाखा र ६ विभागको जिम्मेवारी महिला कर्मचारीले पाएका हुन् । यद्यपि, केही विभाग र महाशाखा प्रमुखको जिम्मेवारी निमित्त मात्रै दिइएको छ ।

काठमाडौँ महानगरपालिकाले दिएको जानकारी अनुसार स्वास्थ्य, शिक्षा, मेयरको सचिवालय, शहरी व्यवस्थापन, सामाजिक विकास र अनुगमन तथा मूल्यांकन विभागको विभागीय प्रमुख महिला छन् ।

यस्तै, सम्पदा तथा पर्यटन, सुचना प्रविधि, सामाजिक विकास र स्वास्थ्य महाशाखा प्रमुखको जिम्मेवारीमा पनि महिला छन् । 

काठमाडौँ महानगरपालिकाको शहरी व्यवस्थापन विभागको विभागीय प्रमुख अर्चना श्रेष्ठ शाक्य छिन् । सो विभागका यसअघिका प्रमुख सुरज शाक्यको सार्वजनिक निर्माण विभागमा सरूवा भएपछि शाक्यले विभागीय प्रमुखको जिम्मेवारी पाएकी हुन् । नक्सापास, घरको मापदण्ड जस्ता विषय महानगरको सो विभागले हेर्ने गर्छ ।

महानगरको योजना, अनुगमन तथा मूल्यांकन विभागको विभागीय प्रमुखको जिम्मेवारी सुमित्रा लामिछाने सुवेदीले संहालिरहेकी छिन् । काठमडौँ महानगरपालिकाका विकास आयोजनाको अनुगमन तथा मूल्यांकनको जिम्मेवारी सो विभागको पर्छ ।

काठमाडौँ महानगरको शिक्षा विभागको विभागीय प्रमुख पनि महिला छिन् । सरस्वती पोखरेलले महानगरको शिक्षा विभागको निमित्त विभागीय प्रमुखको जिम्मेवारी संहालिरहेकी छिन् । बानेश्वरको रत्नराज्य स्कुलमा विज्ञान संकायमा १०ंप्लस टू चलाउने अनुमति दिँदा शिक्षा समितिको निर्णय आफैं गरेको आरोप लागेका विभागीय प्रमुख सीताराम कोइराला अहिले निलम्बनमा छन् । कोइरालालाई विभागीयको जिम्मेवारीबाट हटाइएपछि पोखरेलले निमित्त प्रमुखको जिम्मेवारी पाएकी हुन् ।

काठमाडौँ महानगरको स्वास्थ्य विभागको जिम्मेवारी पनि महिलाले संहालिरहेकी छिन् । सो विभागको निमित्त विभागीय प्रमुखको जिम्मेवारीमा सजिना महर्जन छिन् । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल विवादमा परेर हटाइएसँगै निमित्त प्रमुखको जिम्मेवारी महर्जनले पाएकी हुन् । 

मेयर बालेन शाहको सचिवालयको नेतृत्व पनि महिलाले गरेकी छिन् । शान्ता पहाडीलाई मेयरको सचिवालयको निमित्त प्रमुख बनाइएको छ । स्वास्थ्यका कर्मचारी भर्ना प्रकरणमा नाम मुछिएपछि स्वास्थ्य विभाग प्रमुखसँगै मेयर शाहको सचिवालय प्रमुख नूरनिधि न्यौपाने पनि निलम्बनमा छन् । त्यसपछि पहाडीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

काठमाडौं महानगरपालिकाको समाजिक विकास विभागको विभागीय प्रमुख पनि महिला छिन् । विमला कोइरालालाई सो विभागको निमित्त विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । सो विभागका प्रमुख गोपाल पोखरेलको हेटौंडा उपमहानगरपालिकामा सरुवा भएपछि कोइरालाले निमित्त प्रमुखको जिम्मेवारी पाएकी हुन् ।

महानगरको ४ वटा महाशाखाको नेतृत्व पनि महिलाले संहालिरहेका छन् । सम्पदा तथा पर्यटन, सुचना प्रविधि, सामाजिक विकास र स्वास्थ्य महाशाखा प्रमुखको जिम्मेवारीमा पनि महिलाले संहालेका हुन् ।

काठमाडौँ महानगरपालिकाका अनुसार सम्पदा तथा पर्यटन महाशाखा प्रमुख इरु श्रेष्ठ छिन् । विभिन्न प्रकारका कला, संस्कृति तथा सम्पदाले भरिपूर्ण काठमाडौं महानगरपालिकाले यससँग सम्बन्धित महाशाखा प्रमुख महिलालाई बनाएको छ ।

काठमाडौँ महानगरको सुचना प्रविधि महाशाखाको नेतृत्व पनि महिलाको छ । सीता शर्माले सो महाशाखाको नेतृत्व गरिहेकी छिन् ।

काठमाडौँ महानगरको सामाजिक विकास महाशाखाको नेतृत्व पनि महिलाले संहालिरहेकी छिन् । सो महाशाखाको प्रमुखको जिम्मेवारीमा शारदादेवी सोती पौडेल छिन् ।

काठमाडौँ महानगरको स्वास्थ्य महाशाखा प्रमुख पनि महिला नै छिन् । महानगरले जानकी सिंहलाई सो महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update