Odapalika - The Fourth Estate - चौथो अंग
बेनी जाऊ, बरु चुरोट खाउ तर हुक्का नखाऊ !

काठमाडाैँ । म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ । 

सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्काले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने भन्दै नगर कार्यापाकिलाले निर्णय गरेर प्रतिबन्ध लगाएको हो । 

यो नियम बुधवारबाट नै लागु भएको नगरपालिकाले जनाएको छ । जसमा सेवन र बेचबिखन गर्न पाइने छैन । 

नगर प्रमुख सुरत केसीका अनुसार २५ माघमा बसेको कार्यपाकिला बैठकले नै प्रतिवन्ध लगाउने निर्णय गरेको हो । 

हुक्का सेवानमा प्रतिबन्ध लगाएको नगरले चुरोट सुर्तीलगायको सेवनमा भने कुनै प्रतिबन्ध लगाएको छैन । 

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड ञ बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ । 

कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाइएमा सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गरिने सूचनामा उल्लेख छ ।

नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 
beni1709172332.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update