Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता 

काठमाडौँ । ललितपुर महानगरको निमन्त्रणामा नेपाल आएका कोरियाका चेओरवन सहरका मेयर  ली ह्युन जोङ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । 

चेओरवन सहरको मेयरको प्रतिनिधिमण्डल ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहित शितलनिवास पुगेको थियो । ललितपुर महानगरका प्रमुख महर्जनले विदेशी पाहुना नेपाल आउँदा राष्ट्रप्रमुखलाई भेटाउनु कर्तव्य भएको बताए । 

राष्ट्रप्रमुख रामचन्द्र पौडेललाई भेट्न पाउँदा चेओरवनको मेयर खुशी भएको बताए । 

राष्ट्रपतिलाई उद्धृत गर्दै महानगर प्रमुख महर्जनले भने, ‘यो भ्रमणले दुई सहरबीचको सम्बन्ध अझै बलियो हुनेछ ।’ 

फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरको लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाई थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताएका थिए । 

महानगर प्रमुख महर्जनले राष्ट्रपतिलाई उद्धृत गर्दै भने, ‘दुई सहरका असल अभ्यासहरु आदानप्रदान गर्नुपर्छ । ’ चेओरवन सहरको मेयर सहितको समूह तीन दिनअघि नेपाल आएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update