Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने 

काठमाडौँ । नागार्जुन नगरपालिकाले नगरभित्र रहेका जटिल रोगका बिरामीहरुलाई सुचीकृत हुन आग्रह गरेको छ । 

नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई सम्बन्धित वडामा सम्पर्क गरी सुचीकृत गर्न आग्रह गरेको हो । 

‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने सम्वन्धि कार्यविधि २०७८ बमोजिम (रोग निको नहुन्जेलसम्म मासिक  ५ हजार रुपैयाँ औषधि उपचार खर्च सेवा प्राप्त गर्नको लागि सम्वन्धित वडामा सूचीकृत गर्नुहुन अनुरोध छ’, नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

यसअघि जटिल खालका बिरामीलाई औषधि उपचारको खर्च नगरपालिकाले नै भुक्तानी गर्दै आएकोमा हाल सम्बन्धित वडालाई नै जिम्मा दिइएको नगरपालिकाले जनाएकोे छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी यसअघि औषधी उपचार बापत रकम लिदै आएका सेवाग्राहीलाई नवीकरण तथा नयाँ विरामीहरुलाई सूचिकृत गर्न आग्रह गरिएको बताउँछन् । 

उनका अनुसार नगरपालिकाले नगरभित्र रहेका मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मृगौलामा समस्या भइ डायलाइसिस गराइरहेका बिरामी, क्यान्सर रोगको लागि हाल निरन्तर उपचार गराइरहेका बिरामी तथा मेरुदण्ड पक्षघात र  अपांगता सम्बन्धी रातो र निलो परिचय पत्र प्राप्त गरेका बिरामीलाई औषधि उपचार बापत रकम उपलब्ध गराउँदै आएको छ । 

नगरपालिकाले बिरामीहरुलाई सम्वन्धित वडामा सुचीकृत हुनका लागि गरिबीको परिचय पत्र प्राप्त वा वडा कार्यालयबाट गरिने गरिबी÷विपन्न व्यक्ति हो भनि प्रमाणित सिफारिस पत्र, रोग लागेको र हाल उपचार गराइरहेको विवरण खुल्ने चिकित्सकको सिफारिस पत्र, राष्ट्रिय परिचय पत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि र विरामीकै नामको बैंक खाताको चेकबुकको प्रतिलिपि (खाता सक्रिय रहेको बोधार्थ) सहित वडामा उपस्थित आग्रह गरेको छ । 

नगरपालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता लिएको, विदेशी सरकारबाट पेन्सन प्राप्त गरेका, नेपाल सरकारले उपलब्ध गराउदै आएको कुनै पनि भत्ता प्राप्त नगरेका नगरबासीलाई मात्र औषधी उपचार बापत मासिक रुपमा भत्ता उपलब्ध गराइने जनाएको छ । 

यस्तै, गत आर्थिक वर्ष २०७९÷०८० मा नगरपालिकाबाट औषधी उपचारबापत भत्ता लिएका बिरामीहरुले हाल नियमित उपचार गरिरहेका कागजातसहित निवेदन दिनसक्ने नागार्जुन नगरपालिकाले जनाएकोे छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update