Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर भ्रमण वर्ष उद्घाटनमा पूर्वप्रधानमन्त्रीको लर्को, बाबुराम जान मानेनन्

काठमाडौँ । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाइन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिक रुपमा उद्घाटन हुँदै छ ।

नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नै चितवन पुगेका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ५ जना पूर्वप्रधानमन्त्री सहभागी हुने छन् । मेयर रेनु दाहालका अनुसार उद्घाटन दिउँसो १ बजे हुनेछ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि आज चितवन आइपुग्ने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बिहीबार नै चितवन पुगिसकेका छन् ।

अधिकारीका अनुसार उद्घाटन कार्यक्रममा सबै जनालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गरिएको भएपनि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले भने सहभागी हुन नसक्ने जानकारी दिएको उनले बताए ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update