Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधी पसल अनुगमन गर्दा कुनैले  पनि आधारभूत मापदण्ड पालना नगरेको भेटिएको छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधी पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं. १, २ र ३ को धेरै र अन्य वडामा विभिन्न ठाउँमा गरेर अनुगमन गरिएको हो । 

वडा नं. १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइयो । यसरी भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरियो । प्राणघातक रोेग रेविजविरुद्ध लगाइने एन्टिरेविज खोप जस्तो परविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नमिलेको भेटियो ।  

‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो,’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’  

फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार औषधी पसलमा कुनै पनि खोप नलगाए हुन्छ । औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधी पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । औषधी व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन् । बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नं. केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डवल लक हुनु पर्ने, त्यस्तो छैन । उहाँका अनुसार यस्ता समस्या औषधी पसलमा देखिएका साझा समस्या हुन् । यस्तै हरेकका छुट्टाछुट्टै समस्या पनि छन् । 

रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधी पाइयो । सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधी विक्री गरेको पाइयो । रोयल गन्तव्य हेल्थ केयर प्रा. लि. घट्टेकुलोको औषधी पसलमा व्यक्ति व्यक्तिको प्रमाण पत्र थिएन । 

अनामनगरको रिजाल ड्रग हाउसमा औषधीभन्दा धेरै कस्मेटिक सामान भेटिए । फ्रिजको सफाइ थिएन । 

अनुगमनका क्रममा भेटिएका यी केही प्रतिनिधि अवस्था हुन् । यी र यस्ता समस्या सबै जसोमा छन् । यो खराव अवस्था हो । राम्रो औषधी पसल चाहिँ कति भेटिए, प्रश्नको जवाफमा अनुगमन संयोजक श्रेष्ठ भन्छन््, ‘नाम नै लिनु पर्ने गरीका कुनै भेटिएनन् । एक दुई वटा सामान्य देखिए ।’

औषधी पसलहरुको यो प्रवृत्ति र अवस्थामा तत्काल सुधारको खाँचो छ ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update