Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरले देखायो शक्तिः सबै पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने, २० हजार विद्यार्थीलाई निम्तो

काठमाडौँ । भरतपुर महानगरपालिकाले आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न लागेको छ । आज दिउसो १ बजे नारायण नदी किनारमा ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ कार्यक्रम उद्घाटन गर्न लागिएको हो ।

कार्यक्रमको उद्घाटन संघीय सरकारका प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले गर्ने मेयर रेनु दाहालले जानकारी दिइन् । कार्यक्रमा सबै पूर्वप्रधानमन्त्रीहरुले सम्बोधन गर्नेछन् ।

‘यही फागुन १८ गते नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन गर्नुहुने यस भव्य समारोहमा पूर्वप्रधानमन्त्रीहरु श्री शेरबहादुर देउवाज्यू, के.पी. शर्मा ओलीज्यू, श्री माधवकुमार नेपालज्यू, श्री झलनाथ खनालज्यू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष श्री खिलराज रेग्मीज्यूलगायतका विशिष्ट पाहुनाहरुको  उपस्थितिले भरतपुरबासी गौरवान्वित भएका छौं । सम्पूर्ण शीर्ष नेतृत्वहरूलाई नेपालकै सुन्दर शहर भरतपुरमा हार्दिक स्वागत गर्दछौं,’ मेयर दाहालले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेकी छिन् ।

ex-pms-in-airport1709274907.jpg

कार्यक्रममा सहभागी हुनको लागि प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार नै चितवन पुगिसकेका छन् भने पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलाराज रेग्मी लगायतका विशिष्ट निम्तालुहरु शुक्रबार चितवन पुगेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पनि उद्घाटन कार्यक्रममा सहभागी हुँदैछन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद पनि हुन् ।

उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको लक्ष्य छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको महानगरले जानकारी दिएको छ ।

उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलका साथै अन्य प्रदेशका मुख्यमन्त्रीहरु सहभागी हुनेछन् । यस्तै, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुवँर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल लगायत पनि सहभागी हुँदैछन् ।

आयोजकले दिएको जानकारी अनुसार शुक्रबार बिहान ११ बजेदेखि साढे १२ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम राखिएको छ । दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ ।

उद्घाटन समारोह सकिएपछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले प्रस्तुती दिने तय भएको छ ।

उद्घाटन कार्यक्रमअघि महानगरका वडाहरुबाट विभिन्न सास्कृतिक कलाकौशल सहितको झाँकी प्रदर्शन हुनेछ । झाँकीसहितको प्रदर्शन पनि उद्घाटन समारोहमा सहभागी हुनेछ । 

यस्तै, महानगरले आफ्नो महानगरभित्रका सबै विद्यालयहरुलाई पत्र पठाउँदै विद्यार्थीलाई पनि कायृक्रमा सहभागी गराउन अनुरोध गरेको छ । यसका लागि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई मात्रै सहभागी गराउन महानगरले पत्र लेखेको छ । 

‘...यसैवर्षबाट महानगरपालिको व्यवहारिक शुक्रबार कार्यक्रम अन्तर्गत शुक्रबार पाठ्यपुस्तक रहित अवलोकन भ्रमण, प्रतिभा प्रस्तुति, प्रयोगात्मक सिकाइका क्रियाकलाप गराउँदै आएको सन्दर्भमा भरतपुर भ्रमण वर्षको अवसरमा हुने विभिन्न सास्कृतिक तथा कलाकौशलसहितको झाँकी प्रदर्शनको अवलोकन गराउन व्यवहारिक सिकाईका दृष्टिले उपयुक्त हुने देखिएकोले माध्यामिक (९–१२ कक्षा) का विद्यार्थीहरुलाई विद्यार्थीको चाहना र विद्यालयको व्यवस्थापकीय सहजताका आधारमा र्यालीको समुद्घाटन समारोहमा सहभागी गराउन...,’ महानगरले विद्यालयहरुलाई लेखेको पत्रमा उल्लेख छ । सो दिन विद्यालय बन्द भने नहुने महानगरको नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

सो महानगरमा कक्षा १२ सम्म अध्यापन गराउने १२५ विद्यालय रहेको पौडेलले जानकारी दिए । यसमध्ये ९ देखि १२ कक्षासम्मका विद्यार्थीको संख्या करिब २० हजार रहेको उनको भनाइ छ । 

‘कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीको संख्या २० हजारको हाराहारीमा छ । एसइईको परीक्षा नजिक आएकोले कक्षा १० का विद्यार्थी सहभागी हुँदैनन् भन्ने विद्यालयहरुले जानकारी गराएका छन् । विद्यार्थीले सहभागी हुन चाहेको र विद्यालयले व्यवस्थापन गर्न सक्ने अवस्था भए र्यालीमा सहभागी गराउनु होला भनिएको हो । अनिवार्य होइन,’ शिक्षा अधिकारी पौडेलले वडापालिकासँग भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update