Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरीका मेयर जब उपमेयर चढ्ने सरकारी गाडीको पास बनाएर तीर्थाटनमा निस्किए... 

काठमाडौँ । उपप्रमुखले चढ्ने सरकारी गाडीको पास निकालेर श्रीमतीसहित तीर्थाटनमा निस्किएपछि ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विवादमा परेका छन् । 

५ फागुनदेखि २५ गतेसम्म व्यक्तिगत कामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट उपमेयर मुना अधिकारीसमेतको सरकारी गाडीको पास निकालेर श्रीमतीसहित परिवारका सदस्य लिएर बागलुङ घुम्न निस्किएपछि उनी बिवादमा परेका हुन् । 

मेयरले उपमेयरकै नाममा गाडीको पास निकालेर श्रीमतीलाई राखेर व्यक्तिगत काममा निस्किएपछि वागलुङका स्थानीय संचारकर्मीले उनलाई सरकारी सवारीको दुरुपयोग गरेको भन्दै विवादमा ल्याइदिएका हुन् । 

इलाकाखबर डटकम नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा समेत मेयर महर्जनले उपमेयरको नाममा जारी भएको सरकारी गाडीमा श्रीमती र परिवारका सदस्य राखेर यात्रा गरिरहेको देखिन्छ । 

फागुन ५ गतेदेखि २५ गतेसम्म आफ्नो र उपमेयरको नाममा सरकारी गाडीको पास झिकेर श्रीमती बोकेर मेयर महर्जन  वाग्लुङको पञ्चकोटमा स्वामी कमलनयनाचार्य भेटन् पुगेका छन् । 

५ हजार ५५५ किलोको घन्टा चढाएको र दर्शन गर्न पुगेको मेयर महर्जन बताउँछन् । उनको गाडीलाई वाग्लुङ पर्वत र म्याग्दीको सीमामा ट्राफिक प्रहरीले रोकेपछि घटना बाहिरिएको हो ।  

उपमेयर अधिकारीले आफ्नो नाममा पास जारी भएको बताएपनि आफुलाई मेयरको पारिवारिक भ्रमणका विषयमा थाहा नभएको बताएकी छन् । 

सरकारी काममा बाहेक जनप्रतिनिधि र सरकारी अधिकारीले सार्वजनिक बिदा र व्यक्तिगत काममा सरकारी गाडीको प्रयोग गर्न नपाइने व्यवस्था छ । 

तर मेयरले भने लामो समयका लागि पास बनाएर व्यक्तिगत धार्मिक यात्रा तय गरेपछि उनी यतिवेला बिवादको केन्द्रमा परेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update