Odapalika - The Fourth Estate - चौथो अंग
सियारी गाउँपालिकामा फिजियोथेरापी सेवा सुरु, स्थानीयलाई सहज 

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी सेवा सुरु गरेको छ । पालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि फिजियोथेरापी सुरु गरेको हो ।

सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियोथेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नुपर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा सुरु गरेको बताए । 

अध्यक्ष घिमिरेले भने, 'एक जना फिजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापि गरे बापतको शुल्क लगायत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हदैन्, यी सबै कुराबाट नागरिकलाई सुविधा दिनका लागि पालिकाबाटै फिजियोथेरापी शुरु गरेका हौँ ।' 

पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रसको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आवश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए । 

आधुनिक मेशिनसहित फिजियोथेरापी सेवा विस्तार भएसँगै सियारीसहित मायादेवी र सुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहाुर घर्तीले जानकारी दिए । 

प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगायत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशाशकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए । 

गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल्क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निःशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update