Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले चिरायु, विपी स्मृति र कान्तिपुर अस्पतालको पनि फोहोर नउठाउने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप ३ वटा अस्पतालको फोहोर संकलन नगर्ने भएको छ । 

स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । 

चिरायु अस्पताल, विपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो । 

अवस्थाका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भनिन्, ‘स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरेका थियौँ । यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका साथ हेरेका थियौँ । आज हेरिएका ३ वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाएका हौँ ।’

२७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । 

तीनवटामध्ये पनि विपी स्मृति अस्पतालको अभ्यास धेरै कमजोर छ । यतिसम्मकि अस्पतालका निर्देशक डा. भीम आचार्यलाई फोहोर व्यवस्थापनको फोकल पर्सन को हो, अटोक्लेभ कसले चलाउँछ, जोखिमयुक्त फोहोर कहाँ भण्डारण गरिन्छ भन्ने सूचना पनि थिएन । 

अस्पतालबाट जम्मा भएको फोहोर क्यान्टिन नजिकैको सानो कोठामा बोरामा राखिएको थियो । यो १ सय वेडको अस्पताल हो । 

फोहोर वर्गीकरणका लागि राखिएका बाल्टिनमा मिश्रित फोहोर भेटियो । अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको वा कसैलाई थप जिम्मेवारी दिएको भेटिएन । यो अस्पतालबाट सामाखुशीतर्फ करिब आधा किलोमिटरमा कान्तिपुर डेन्टल अस्पताल छ । यो अस्पतालमा १५० वटा डेन्टल चेयर र १०० वटा वेड छन् । यो काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण अस्पताल पनि हो ।  

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले फोहोर भण्डारण र निर्मलीकरणका लागि अर्कोपटक कुनै  त्रुटी नदेखिनेगरी काम गरिने बताए । 

अस्पतालको डेन्टल सेवाबाट दैनिक करिब १० किलो फोहोर उत्पादन हुने गरेको छ । उत्पादित सुइहरु ग्यालिनमा हालेर राखिएको छ । फोहोर वर्गीकरणको अभ्यास जानकारी लिने एक कर्मचारीले भने, हामीले यहाँ छुट््याए पनि संकलन गर्न आउनेहरुले मिसाउने गरेको देखेपछि हामीले वर्गीकरण गर्न छाडेका हौँ । 

बसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरणका लागि छुट्टाछुट्टै बकेट राखिएका छन् । स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रयास थालिएको छ । 

प्रयोगशालामा अटोक्लेभ छ, यसलाई फोहोर नभइ प्रयोगशालाका सामानलाई शुद्धिकरण गर्न प्रयोग भएको छ । वर्गीकरण भएको फोहोर राख्न छुट्टाछुट्टै कोठा बनाइएको छ । 

अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update