Odapalika - The Fourth Estate - चौथो अंग
आयुर्वेदिक जडीबुटी प्रशोशन केन्द्र बनाउन जुट्यो चन्द्रागिरि नगरपालिका

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले १० प्रकारका आयुर्वेदिक जडीबुटीको उद्यान तथां प्रशोशन केन्द्र बनाउने प्रक्रिया अघि वढाएको छ ।

नगरले यसअघि नै चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । 

नगरपालिकाले सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे,  लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवद्र्धन गर्न लागेको हो । 

यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । नगरपालिकाले ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो ।  

चन्द्रागिरिका १५ सामुदायिक वन मध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ वन सो सर्वेक्षणमा समेटिएका थिए । ती वन समूहमा मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचोक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन टोलीले वैज्ञानिक अध्ययन गरेको थियो । 

अध्ययनका क्रममा जडीबुटीहरुको भौगोलिक अवस्थितिलाई ‘प्लटिङ’ समेत गरिएको थियो ।  ती वन क्षेत्रका ७१३ हेक्टरमध्ये १०० देखि १५० हेक्टरमा जडीबुटी पाइएको थियो । 

नगरको अनुसन्धानले चिराइतो, सुगन्धवाला, टिमुर, पिपला र धासिङ्गरे० लाई खेती गर्न सकिने पुष्टि गरेको छ । ती जडीबुटी एउटै विधिद्वारा प्रशोधन गर्न सकिने जनाइएको छ । ती जडीबुटीबाट वार्षिक ५३ हजार केजी सङ्कलन सकिने अध्ययनले औँल्याएको छ । 

अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण अध्ययन टोलीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई आइतबार अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक वनको दीगो व्यवस्थापन एवं सदुपयोग गर्दै यसलाई आयआर्जनसँग जोड्न र जैविक विविधता संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने बताए । 

मातातीर्थ आयुर्वेदिक औषधालयका प्रमुख डा नारायण आचार्यले पहिलोपटक गरिएको बहुआयामिक अध्ययनले चन्द्रागिरिमा प्रचुर मात्रामा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भाव्यताको उजागर गरेको बताए । 

अध्ययन टोलीमा डा नवीन जोशी, स्नेहा बर्मा तथा शालिकराम कँडेल छन् । टोलीले सामुदायिक वनभित्रका जडीबुटीका स्रोत स्थानीयवासी, वनमा आश्रित समुदायका लागि नगद आम्दानीको महत्वपूर्ण स्रोत र जीविकोपार्जनको माध्यम बन्न सक्ने सुझाव दिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update