Odapalika - The Fourth Estate - चौथो अंग
लोकसेवा र शिक्षक सेवाको तयारीमा हो ? पर्वतकाले पालिकामा सम्पर्क गर्नू 

काठमाडौँ । पर्वतको बिहादी गाउँपालिकाले पालिकाभित्रका युवालाई निःशुल्क लोकसेवा र शिक्षासेवा तयारी कक्षा संचालन गर्ने भएको छ । 

लोकसेवाको निःशुल्क कक्षा संचालन गर्ने भन्दै १७ फागुनमा निवेदन दिन सूचना निकालेको पालिकाले आज  कक्षा लिन चाहनेका लागि गुगल फारामसमेत सार्वजनिक गरेको छ । 

पालिकाले यस्तो पढाइ अनलाईनमार्फत हुने भनेको छ । इच्छुकले १५ दिनभित्र पालिकाले उपलव्ध गराएको फाराम भरेर बुझाउन सक्नेछन् । 

ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति नै तयार गर्ने उद्देश्य यस्ता कक्षा सञ्चालन गर्न लागिएको पालिकाको भनाइ छ । 

महाशिला गाउँपालिकाले पनि लोकसेवा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा लिइरहेको छ । गत माघबाटै कक्षा सुरु गरेको महाशिलाले   पालिकाभित्रका युवायुवती, विद्यार्थी तथा योग्यता पुगेका २५ जनालाई पढाइरहेको बताएको छ । 

बिहादीले लोक सेवा आयोगले लिने नायब सुब्बा र खरिदारको तयारी कक्षा सञ्चालन गर्न लागेको छ । निजामती सेवा अप्राविधिकतर्फका नायब सुब्वा, खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क कक्षा शुरु गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुषालले जानकारी दिए । 

सहभागीलाई जिल्लाभित्र एवं बाहिर रहेका निजामती सेवामा आवद्ध एवं अनुभवी प्रशिक्षकबाट प्रशिक्षण दिइने पालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update