Odapalika - The Fourth Estate - चौथो अंग
लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर

बर्दिबास । नवलपरासीको कावासोतीबाट ४ किलोमिटर भित्र संचालनमा छ–जटायु रेष्टुरेन्ट । पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झन्डै १४ बर्षदेखि सञ्चालनमा रहेको उक्त  रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ । 

जसका कारण एकातिर संसारवाट लोपोन्मुख अवस्थामा रहेको यो पक्षीको संरक्षण भएको छ भने अर्कातिर महत्वपूर्ण पर्यटन केन्द्रको रुपमा विकास हुँदा स्थानीयको आयआर्जनमा समेत वृद्धि भएको छ ।

तर महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राईमण्डल डाँडामा प्राकृतिक बासस्थान बनाएका हजारौँ गिद्धहरु आहाराको खोजीमा छन् भने जंगल क्षेत्रमा फ्याकिएका विषाक्त मृत जनावरहरु खाएर मर्ने क्रमसमेत बढेको स्थानीयहरू बताउँछन् । 

राईमण्डल डाँडाको सेतो भिरमा अहिलेपनि जुनसुकै समयमा सयौ गिद्धहरु देख्न सकिन्छ अझ विहानको समयमा त आकाशभरी हजारौँ गिद्धहरु  देख्न सकिने स्थानीय बासिन्दा बल बहादुरको भनाइ छ ।

‘ ३ प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन् । विशेषगरी सेतो भिर वरपर नै उनीहरुको बासस्थान छ,’ उनले भने । जंगल क्षेत्र सिन्धुली (बर्दिवास सडक खण्डमा कहिलेकाँही मरेको गाई–भैसी फ्याक्दा आहारको लागी बाक्लै संख्यामा जम्मा भएतापनि फरक–फरक प्रजातिका गिद्ध भने विस्तारै लोप हुदै गएको स्थानीय बासिन्दाको भनाइ छ । 

‘हामी कुन जाति हो भन्ने त चिन्दैनौ तर यहाँ थरिथरिका गिद्ध देख्न सकिन्छ,’ स्थानीय विजय पोखरेलले भने, ‘यसको उचित संरक्षण भएन भने कुनैपनि गिद्ध हाम्रा पाखामा देख्न नसकिने अवस्था बन्दै गएको छ ।’

अध्यनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ ।  राईमण्डलका स्थानीयहरुले वताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरिका गिद्ध देखिन्छन जुन फरकफरक रुपरंगका छन् ।

महोत्तरीका पत्रकार रविन्द्र उप्रेती महोत्तरीको उत्तरी क्षेत्र गिद्धहरुको ठुलो बासस्थान भएको बताउँछन । सरकारले गिद्ध सरक्षणको लागी ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान फर नेपाल’ कार्यक्रम लागु गरेपछि यस बिषयमा कलम चलाएको स्मरण गर्दै त्यतिबेलाको संख्या अहिले निक्कै कम भएको पत्रकार उप्रेतीको भनाइ छ । 

 पशु उपचारमा डाइक्लोफेनेकको व्यापक प्रयोग हुनु र नासिनु, उचित हेरचाहको अभावमा स्तान्तरण हुनुजस्ता कारणले बर्दिवासको आकाशमा पहिलेजस्तो गिद्धको संख्या कम हुदै गएको उनको अनुभव छ ।

अहिलेको अवस्थामा पनि स्थानीय सरकारले गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने कतिपयको सुझाव छ । उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णुवहादुर खडका राईमण्डल आकाशमा देखिने गिद्ध र बासस्थानलाई सुरक्षित गर्न नवलपरासीको जस्तै जटायु रेष्टुरेन्ट खोल्न सकिने आधार देखिएको बताउँछन् । 

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्किले गिद्ध हेर्नस्थलगत अनुगमन नै गरेको बताउँदै यो स्थानलाई चराचुरुङ्गीहरुसँग जोडेर पर्यापर्यटनको रुपमा विकास गर्न सकिने बताउँछिन् । 

तर यसका लागि स्थानीय सरकारनै अघि बढ्नुर्नेमा उनीहरुको जोड छ ।चरिचरणका लागी स्थानीयहरुले जंगलमा छाडेका पशुचौपायालाई बन्यजन्तुले कहिलेकाँही मार्ने र त्यसैलाई गिद्धले आहार वनाउने हुँदा बासस्थान समेत यतै वनाएको स्थानीय राजन मगर बुझाइ छ । 

सरोकारवाला निकायले ध्यान नदिदा गिद्धकै कारण मनोरम बनेको राईमण्डलको अस्तित्व नै समाप्त हुने त हैन भन्ने स्थानीयहरुमा चिन्ता थपिएको छ । 

उद्योग बाणिज्य संघ बर्दिवासको टोलीले यस क्षेत्रमा भएका सम्भावनाहरुलाई लिएर संघीय मन्त्रालयमा डेलिगेसन नै गएको थियो । गिद्धलगायत राइमण्डलको पर्यटकीय सम्भावनाहरुको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयवाट केहीदिन भित्रै विज्ञ टोली  पठाउने आश्वासन पाएपनि मूर्तरुप पाइनसकेको संघका अध्यक्ष खड्काले जानकारी दिए ।

अहिले पछिल्लो समय पशुचौपायाको उपचारमा प्रयोग हुदै आएको एसिक्लोफेनेक, किटोप्रोफेन, निम्सुलाइड औषधि प्रचलनमा प्रचलनमा देखिएका छन्न् । यी औषधि पनि गिद्धका निम्ति हानिकारक भएको विज्ञहरु बताउछन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update