Odapalika - The Fourth Estate - चौथो अंग
धरानमा चलेको श्रमदान कि कैद–ए–बा–मशक्कत ?

साउन १९ गते अपरान्ह ४ बज्न ५ मिनेटजति बाँकी हुँदा धरान उपमहानगरकालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा लेखे– ‘भोलि पुरै धरान आउनु होला, निशानेदेखि भेडेटारसम्मै फूल रोपौँ खत्रा !’

धरानका मेयर साम्पाङ अहिले धरान क्षेत्रमा फूल रोपौँ भन्दै झम्पल बोकेर हिडिरहेका छन् । घाम, पानी, साँझ, विहान केहीको पर्वाह छैन उनलाई । हिलो, धुलो, फोहोर, मैलो, भोक, प्यास केहीको मतलव छैन । उनको मतलवको विषय हो– श्रमदान ।

तपाईं हामीले सुनेको र जानेको बारहरुको नाम–आइतबार, सोमबार, मंगलबार, बुधबार, विहीबार, शुक्रबार र शनिबार हो । धरानमा पनि सातै बार छन् । तर, एउटा बारको नाम फरक छ । अरुले शनिबार भन्छन्, धरानले श्रमबार भन्छ । हर्क मेयर बनेपछि धरानको डिक्स्नेरीमा शनिबार छैन, श्रमबार छ । 

hark21691155561.jpg

हर्क मेयरत्वको धरानले श्रमदानबाट तरक्की गरेर देखाएको छ । पकुवा, सर्दु, खर्दु, निशानेलगायतका स्थानीय खहरेखोलाको पानी श्रमदानमार्फत धरानको खानेपानी वितरण प्रणालीमा जोडियो । यी खहरेमा बर्खायाममा पानी हुने स्थानीय बताउँछन् । यी खहरेमा पानी देख्नै नपाइने भनेको चैतदेखि जेठसम्म मात्रै रहेछ ।

श्रमदानबाट बर्खे खहरेको भेल खानेपानी वितरण प्रणालीमा जोडिएपछि हर्क हौसिए । श्रमदान गर्नेहरु पनि हौसिए । अनि साच्चै पानी भएको खोला कोकाहबाट धरानमा पानी ल्याउन अर्काे श्रमदान प्रोजेक्ट चल्यो । र, श्रमदानबाटै १०० दिनमा धरानदेखि ४० किलोमिटर टाढाको कोकाह खोलाबाट पानी आइपुग्यो धरान । 

मेयर हर्क साम्पाङले साउन १९ गते भोलिको लागि फूल रोप्न श्रमदानको आव्हान गर्दै फेसबुकमा लेख्नुअघि वडा नं. ७ का वडाध्यक्ष जीवनराज सुवेदीसँग फोनमा कुरा गर्दै थिएँ । उनी टेलिफोनमा सुनाउँदै थिए– धरानमा करिब ९५ प्रतिशत नागरिक विरामी छन्, डेंगीले महामारीको रुप लिएको छ, स्वास्थ्य संकटकाल लगाउन पाए नागरिकलाई जोगाउन सकिन्थ्यो कि !

hark11691155560.JPG

मेयर हर्क साम्पाङलाई श्रमबार फूल रोप्न मन लागेको छ । (नझुक्किनु होला– श्रमबार भनेको धरानभन्दा अन्यत्रले शनिबार भनेर बुझ्ने बार हो ।) डेंगी महामारी नियन्त्रणमा उनको ध्यान कम गएको देखिन्छ । २ दिन अगाडीको खानेपानीमा दिसा मिसिएको भेटियो भन्ने भनाइप्रति बरु उनको आक्रोश छ । 

उनको तन, मन, वचन र कर्मले माग्छ–श्रमदान । उनलाई गर्न मन लाग्छ– श्रमदान । उनी चाहन्छन्– श्रमदान । उनको सोच–श्रमदान । उनको संसार–श्रमदान । उनको योजना–श्रमदान । उनको चेतना– श्रमदान । उनी श्रमदानका लागि जे गर्न पनि तयार देखिएका छन् । त्यसैले उनले श्रमदानबाट धरानमा पानी ल्याउने प्रयोजनका लागि करिब ७८ लाख रुपैयाँ खर्च भएको विवरण नगरकार्यपालिकामा पेश भएको छ ।

हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर हुन । अर्थात् धरान उपमहानगरपालिकाको कार्यकारी प्रमुख, स्थानीय सरकार प्रमुख । उनले कोकाहको पानी ल्याउन जसरी श्रमदान परियोजना चलाए, त्यसैगरी याङ्ग्री र लार्केको पानी काठमाडौँ उपत्यका ल्याउन संघीय सरकार प्रमुख पुष्पकमल दाहालले चलाए भने के हुन्छ ? अथवा काठमाडौँ र ललितपुर महानगरका मेयरहरु बालेन शाह र चिरिबाबु महर्जन मिलेर चलाए भने आम मानिसले कस्तो धारणा बनाउँछन् ?

सूर्यविनायकदेखि धुलिखेलसम्मको ६ लेनको सडक निर्माणको लागि श्रमदान अभियान चलाइयो भने के होला ? फास्टट्रयाक बनाउन श्रमदान अभियान चलाउन किन नमिल्ने ?

धरानको नजिरलाई टेक्ने हो भने पानी ल्याउन मात्रै होइन, बाटो बनाउन पनि श्रमदान अभियान चलाए हुदैन र ? सूर्यविनायकदेखि धुलिखेलसम्मको ६ लेनको सडक निर्माणको लागि श्रमदान अभियान चलाइयो भने के होला ? फास्टट्रयाक बनाउन श्रमदान अभियान चलाउन किन नमिल्ने ? श्रमदानबाट विद्युत परियोजना बनाउन पनि मिल्नु पर्ने होला । श्रमदानबाटै बनाए हुँदैन १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त परियोजना ?

सरकारका परियोजनामा श्रमदान गरेर आय आर्जनमा सहभागी नभएपछि खाने, लगाउने, आफ्नो र परिवारको जीवन गुजारा कसरी गर्ने गराउने भनेर नसोच्नु होला । मात्रै श्रमदान गर्नुस् भन्छ– हर्क साम्पाङ मेयरत्वको धरान मोडलले । हप्ताको एक दिन त हो नि श्रमदानको लागि भन्ने अर्काे कर्नर तर्क पनि आउन सक्छ ।

धरानका मेयर हर्क साम्पाङ आफै सरकार प्रमुख भएर श्रमदानको लागि सार्वजनिक आव्हान गरिरहेका छन् । श्रमदानमा सहभागी नहुनेहरु समाजबाटै बहिस्करणमा पर्ने डरमा देखिन्छन् । सरकार प्रमुखले श्रमदानको लागि आव्हान गर्नु भनेको एक प्रकारले अनिवार्य श्रमदान पनि हो ।

उमेरले ५० कटेकाहरुलाई अहिले पनि याद होला– पन्चायतकालमा श्रमदान गरेको । यो घरबाट यति जना आउनै पर्ने भनेर श्रमदान आव्हान गरिन्थ्यो । श्रमदानबाट बाटो बनाइन्थ्यो । श्रमदानबाट पन्चायतका भवनहरु बनाइन्थ्यो, कुलो खनिन्थ्यो ।

hark1691155559.JPG

सरकार प्रमुखले श्रमदानको लागि आव्हान गर्नु भनेको अघोषित रुपमा श्रमशोषण गर्नु नै हो । संसारभरका मानवनिर्मित अधिकांश ठुला संरचनाहरु जनताको श्रमशोषणबाटै बनेका छन् । युद्धमा हारेका र दण्डित गर्नुपर्नेहरुलाई श्रमदान गराएर तत्कालिन तानाशाहहरुले चीनको ग्रेटवाल बनाए । भारतको ताजमहल जनताको श्रमशोषणबाटै बन्यो । इजिप्टको पिरामिड, रोमको गिर्जाघर पनि तत्कालिन तानाशाहले जनताको श्रमशोषणबाटै बनाएका थिए ।

धरानमा अहिले चलेको श्रम मोडल भारतको कैद–ए–बा–मशक्कत जस्तै भान हुन हुन्छ । यद्यपि, हर्क साम्पाङले वाध्यकारी श्रमदान वा दण्डात्मक दासताको  परिकल्पना भने गरिसकेका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update