Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका ३५ खाले तालिम, कोठा र ल्याव निःशुल्क दिने २० क्याम्पसको प्रतिवद्धता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले सरकारी र निजी गरेर २० वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

महानगरपालिकाले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सीप विकास तालिम सञ्चालन हुन्छन् । 

यस्ता विविध विधाका तालिम सञ्चालन गर्न सम्झौता भएको हो । सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सीप नजानेका र सीपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सीप सिकाउने तथा सिपको स्तरोन्नति गराइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य हो । 

सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । 

तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् ।सिपमूलक तालिम लिनका लागि अहिलेसम्म करिब १० हजार व्यक्तिको आवेदन प्राप्त भइसकेको छ ।

तालिम लिन कसरी फाराम भर्ने 

चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरुलाई फाराम भर्न आव्हान गरिएको छ । अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । 

फाराममा इच्छुक व्यक्तिले नाम थर, शैक्षिक योग्यता, हाल सम्लग्न पेशा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरुका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ । 

शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन् । फाराम भर्नेले यी बिधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ । 

तालिमका विधाहरु 

१)     प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम 

२)    सफ्टवेयर डिभलपमेन्ट तालिम 

३)    प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम 

४)    सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम 

५)    कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम 

६)    व्युटी पार्लर तथा सैलुन तालिम 

७)    मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम 

८)    लाइट भेहिकल मेन्टिनेन्स तालिम 

९)    कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम

१०)    हस्तकला तथा मूर्तिकला तालिम 

११)    आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम

१२)    सरसफाइ तथा माली तालिम

१३)    कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम

१४)    हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम 

१५)    फास्टफुड÷चाइनिज र इन्डियन कुक तालिम 

१६)    बारिस्ता ÷ बेकरी तालिम 

१७)    बार ट्रेण्डिङ्÷वेटर÷वेट्रिस तालिम

१८)    होम एप्लाइन्सेस मर्मत तालिम 

१९)    अनलाइन रोजगार (जब) तालिम 

२०)    सम्पदा निर्माण तथा मर्मत तालिम 

२१)    प्रोसेसनल अकान्टिङ् तालिम 

२२)    रिसेप्सनिष्ट तथा क्यासियर तालिम 

२३)    मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम 

२४)    ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् 

२५)    एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम 

२६)    टुटिस्ट गाइड तालिम 

२७)    सेक्युरिटी गार्ड तालिम

२८)    स्पा तथा थेरापी तालिम 

२९)    लघु उद्यम विकास सहजकर्ता तालिम 

३०)    जुत्ता बनाउने तालिम 

३१)    सहकारी व्यवस्थापक तालिम 

३२)    गरगहना बनाउने तालिम 

३३)    विभिन्न खेलकुदका लागि 

३४)    साइबर सेक्युरिटी

३५)    अन्य तालिमका लागि 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update