Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचार अभियोगमा जनप्रतिनिधि, प्रशासकीय अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष, दोलखाको तामाकोशी गाउँपालिकाका पूर्वउपाध्यक्ष उर्मिला खड्का, सोही गाउँपालिकाका वडाध्यक्ष, तात्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले उनीहरुविरुद्ध आज २ वटा फरक फरक अभियागपत्र दर्ता गरेको हो । महोत्तरीको सम्सी गाउँपालिका वडा नं ६ मा सञ्चालन भएका बाटोको ढलान योजनामा गाउँपालिका तत्कालिन अध्यक्ष शेष फारुक, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसमेत १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

उनीहरुविरुद्ध ४ लाख ३ हजार ५८१ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सो अनुसारको जरिवाना र बिगो मागदावी गर्दैै मुद्दा दायर भएको हो । पूर्वअध्यक्षको निधन भएको भन्दै उनका तर्फबाट विगो र जरिमाना भराउन भनिएको छ । 

दोलखा, तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाई  समेत १२ जनाले  जफे जामुनेमा सभाहल तथा शौचालय निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदापनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामाग्रीमा वडाअध्यक्षले बेचेर आफै खर्च गरेको लगायतको अभियोग छ । 

प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, योजना शाखाका तत्कालीन लेखापाल राम बहादुर कार्की,  तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाई र तत्कालीन सबइन्जिनियर सृजना दुवालविरुद्ध 

१२ लाख ८९ हजार ३२० रुपैयाँ बिगो, सो बरावरको जरिमाना र कैद सजाय माग गरिएको छ । तामाकोशी गाउँपालिकाका तत्कालिन उपाध्यक्ष उर्मिला खड्का, वडा नं १ का वडा अध्यक्ष महेश्वर काफ्ले, वडा नं.३ का तत्कालीन र हालका वडा अध्यक्ष राम प्रसाद काफ्ले, वडा नं ४ का वडा अध्यक्ष होमबहादुर श्रेष्ठविरुद्ध पनि सोही अनुसार विगो, जरिमाना र कैद दाबी गरिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update