Odapalika - The Fourth Estate - चौथो अंग
महानगरका कर्मचारीको पदपूर्ति अब लोकसेवा आयोगबाट 

काठमाडौँ । पोखरा महानगरपालिको सातौँ स्थापना दिवस विविध कार्यक्रम आयोजनाका साथ सम्पन्न भएको छ । 

स्थापना दिवसका अवसरमा आज रक्तदान कार्यक्रम, ‘पोखरा भवन’ र पुल शिलान्याससहित मूल समारोहको आयोजना गरियो ।

पोखरा–९ पृथ्वीचोकमा एकीकृत पर्यटकीय सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघरसहित बन्ने ‘पोखरा भवन’को महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभएको हो । तीनतले उक्त भवन १० करोड रुपैयाँको लागतमा निर्माण हुनेछ । 

स्थापना दिवसकै अवसर पारेर पोखरा–१९ खुइतेखोलामा पुलको शिलान्यास गरिएको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । पोखरा सभागृहमा आयोजित मूल समारोहमा महानगर प्रमुख आचार्यले आगामी वर्षदेखि पुस २ गते महानगर स्थापना दिवस मनाइने बताए । 

२०१६ पुस २ गते तत्कालीन पोखरा नगरपालिका स्थापना भएको दिनलाई नै महानगर स्थापना दिवसका रुपमा मनाइने उनले बताए । नगरपालिका, उपमहानगरपालिका हुँदै २०७३ सालमा पोखरा महानगरपालिका बनेको हो । 

महानगरप्रमुख आचार्यले महानगरको सिङ्गो टोली एकजुट भएर लागेमा मात्र नागरिकलाई प्रतिफल दिन सकिने बताए । 

महानगरको कर्मचारी व्यवस्थापनको समस्या छिट्टै समाधान हुने र अबदेखि कर्मचारीको पदपूर्ति लोकसेवा आयोगमार्फत गरिने प्रमुख आचार्यले बताए ।
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update