Odapalika - The Fourth Estate - चौथो अंग
क्यान्सरका विरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट

काठमाडौँ । निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्सले क्यान्सरका बिरामीलाई निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । 

एयरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट) मा जाने क्यान्सरका विरामीहरुलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।

यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । 

‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका हरेक विरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौं । निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका विरामीहरुले उपभोग गर्न पाउनुहुनेछ । विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौं’, उनले भने ।

निःशुल्क टिकट लिनका लागि विरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कागजातहरुका आधारमा क्यान्सरको विरामी भएको प्रमाणपत्र÷परिचयपत्र उपलब्ध गराउनुहुने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिट्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिए । 

कार्कीले थप जानकारी दिँदै भने, ‘विरामीहरुले डाक्टरको अप्वाइन्टमेन्ट लिनुहुँदा टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।’ 

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने हुन्छ ।

नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update