Odapalika - The Fourth Estate - चौथो अंग
२ सन्तान ईश्वरको वरदान, ३ सन्तान वडाको अनुदान !

काठमाडौँ । पछिल्लो समय जन्मदर कम भएको भन्दै पाल्पाको स्थानीय तहले २ भन्दा वढी सन्तान जन्माउने आमाबाबुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । 

जिल्लाको रिब्दीकोट गाउँपालिकाको १ नम्बर वडाले तेस्रो सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहनस्वरुप नगद ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको हो । 

वडाअध्यक्ष चिरन्जीवी पोखरेल पछिल्लो समय वडाको जनसंख्या कम हुन थालेपछि प्रोत्साहन स्वरुप नगद उपलब्ध गराउन थालिएको बताउँछन् । 

‘जनसंख्या बढ्दा देश गरिब हुँदैन भन्ने अभियान स्वरुप हामीले तेस्रो सन्तानको जन्मदर्ता गर्दा नै नगद ५ हजार रुपैयाँ हस्तान्तरणको अभियान सञ्चालन गरेका हौँ’, उनले भने, ‘बाल जन्मदर बढाउन र गाउँ घरमा खाली भएका विद्यालय भर्न हामीले यो अभियान सञ्चालन गरेका हौँ ।’

उनका अनुसार चालू आर्थिक वर्षबाट सुरु गरिएको उक्त अभियान अन्तरगत हालसम्म २ दम्पत्तीले तेस्रो सन्तानको जन्मदर्ता गरेर प्रोत्साहन भत्ता लिएका छन् । उनले उक्त अभियानलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने भन्दै नगदसँगै गुणस्तरीय पौष्टिक आहार  वितरणको योजनासमेत रहेको बताए । 

पछिल्लो समय गाउँबाट शहर बजारमा बसाई सराईको दर बढ्दो क्रममा छ । बसाइसराइँले गाउँ रित्तिन थालेपछि गाउँका मानिसलाई रोक्न नयाँ नयाँ अभियान सञ्चालनमा ल्याएको उनको भनाइ छ । 

‘रोजगारी तथा शिक्षा, स्वास्थ्यका लागि यहाँका स्थानीयहरु शहर जान थाल्नुभयो, शहरमा पाउने सेवाहरु यही दिने व्यवस्था गरी हामीले गाउँमै रोक्न लागेका हौँ’, उनले भने । 

हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन

वडाले बच्चा जन्माउने दम्पत्तिलाई प्रोत्साहन गरेजस्तै कृषकलाई समेत प्रोत्साहन गर्दै आएको छ । 

कृषि उपजको उत्पादनलाई बढाउन वडाले हल गोरु पाल्ने किसानलाई २ हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप वितरण गर्दै आएको छ । 

यस्तै, नयाँ हल गोरु किन्ने किसानलाई ५ हजार रुपैयाँ दिने गरिएको उनको भनाइ छ । वडाले हालसम्म नयाँ हल गोरु किन्न २ जना किसानलाई १० हजार रुपैयाँ उपलब्ध गराएको छ भने २९ जना गोरु पाल्ने किसानलाई २ हजार ५०० रुपैयाँ दिएको छ । 

दुना टपरी किनेर निःशुल्क वितरण

यस्तै, वडाले दुना टपरी गास्ने कृषकलाई समेत नगद उपलब्ध गराउने गरेको छ । वडालाई प्लास्टिकका सामग्री मुक्त वडा घोषणा गरेको छ । 

‘हामीले प्लास्टिक मुक्त भनेर घोषणा गरेका छौँ, गाउँघरमा हुने पुजा आजामा प्लास्टीकका झोलाहरु छोडेर स्थानीय स्तरमा उत्पादित समग्रीको प्रयोग बढाएका छौँ’, वडाअध्यक्षले पोखरेलले भने, ‘हामीले स्थानीयलाई नगद दिएर उनीहरुले हातले गाँसेका दुना टपरी किन्छौँ । गाउँमा भएका पुजा तथा अन्य कार्यक्रममा निःशुल्क दिन्छौँ ।’

उनका अनुसार वडाले एउटा सालको टपरीलाई १० र दुनालाई ५ रुपैयाँमा खरिद गर्ने गरेको छ । ‘हामीले स्थानीयको आयआर्जमा सहयोग गर्न नगद दिएर दुना र टपरी खरिद गछौँ । यसो गर्दा उहाँहरुलाई केही हदसम्म राहत हुन्छ भने प्लास्टिकका सामग्रीको प्रयोगमा रोक लगाउँदा पर्यावरणीय सन्तुलन पनि कायम हुन्छ ।’

वडाले हालसम्म ८० हजार रुपैयाँ बराबरको सालको टपरी र दुना खरिद गरिसकेको छ । 

कृषिमा लाग्नूस्, नोक्सानी भए वडाले भरपाइ गर्छ

यस्तै, वडाले कृषकलाई कृषि पेशामा आवद्ध गराउन अर्काे अभियानसमेत सञ्चालन गरेको छ । वडाबाट अनुदानमा पाएको तरकारी तथा आलुको बिउ रोप्दा प्राकृतिक प्रकोप तथा बन्यजन्तुबाट हानी नोक्सानी भएमा त्यसको भरपाइसमेत गर्ने गरेको छ ।

वडाले ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको थियो । वडाबाट अनुदानमा पाएको आलुको बिउ रोपेका किसानको विउ नउम्रिदै बाँदर र बदेलले सखाप पार्यो । 

‘बारीमा रोपेको अनाज बाँदर र बदेलले सखाप पारेपछि स्थानीयहरु दुःखी  हुनुभयो, हामीले केही स्थानीयको बारीमा अनुगमन गर्यौँ’, वडाअध्यक्ष पोखरेलले भने, ‘स्थानीयलाई कृषि पेशामा नै आवद्ध हुन हामीले वडाले लिएको अनुदान उहाँहरुलाई नै छोडेर आलुको बिउ वितरण गर्यौँ । किसानलाई उत्पादन तिर लाग्नुस् विपद् आयो भने त्यसको भरपाइ वडाले गर्छ भनेका छौँ ।’

पोखरेल वडाअध्यक्ष हुनुभन्दा अघि व्यवसायी थिए । ‘म पेशाले व्यवसायी हुँ, म मात्र व्यवसायी भएर हुँदैन भनेर मैले स्थानीयलाई समेत स्वरोजगार बन्न प्रोत्साहन गर्दै आएको हुँ’, उनले भने । अध्यक्ष पोखरेल तानसेन चेम्बर अफ कमर्शको २ कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update