Odapalika - The Fourth Estate - चौथो अंग
साढे ४ करोड खर्चेर अपाङ्गतामैत्री पुल बनाउन जुट्यो ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरले कुसुन्ती चक्रपथमा अपाङगतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ । सम्भवत: नेपालकै पहिलो लिफ्टसहितको अपाङगतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । 

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । ८ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्याधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माणका लागि अनुमति मागेको थियो ।

संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको हो । 

पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए । 

उनले भने, ‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकाशे पुल बनाउने निधो गरेका हौँ,’ अन्यत्रको आकाशे पुल सद्दे व्यक्तिका लागि समेत असहज भएको बताउँदै लिफ्टसहितको निर्माण गरेको बताए । 

उनले भने,‘ बालबालिका, ज्येष्ठ नागरिकलगायत सम्पूर्णलाई यो पुल सहज हुनेछ ।’ ललितपुर महानगरको वडा नं १३ मा निर्माण हुने यो पुलको निर्माण अवधि एक वर्षको छ । 

वडा नं १३ का वडा अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिन ४ वर्ष भन्दा धेरै समय लागेको बताए । ढिलै भएपनि अनुमति दिएकोमा विभागलाई उनले धन्यवाद दिए । उनले भने, ‘यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रा लागि खुशीको कुरा हो ।’

आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलका अनुसार सडक विभागबाट सहमति प्राप्त यो आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनि बुद्ध जेभि, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । इन्जिनियर पौडेलले यो पुल नेपालकै पहिलो पुल भएको दाबी गर्दै सडक दुर्घटनाको जोखिमलाई न्यून गर्ने प्रष्ट पारे । 

आयोजनाको परामर्शदाता कम्पनी डिबि मल्टिइन्जिनियरिङ प्रालिका विनोद न्यौपानले यो आकाशे पुलले यात्रुलाई सडक सुरक्षासँगसँगै सहरको सौन्दर्यीकरणका लागिसमेत सहयोग पुग्ने बताए । सडक दुर्घटनमा अत्यधिक भएर धेरैले मृत्युवरण गर्नु परेको अवस्थाको पुल निर्माणपछि अन्य हुने उनले प्रष्ट पारे । 

यो आयोजनाको निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधि चन्द्र बहादुर लामाले गुणस्तरमा कुनै पनि सम्झौता नगरी समयभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यसलका लागि स्थानीय नागरिक, महानगर, सडक विभागलगायत सम्पूर्णको सहयोग अपरिहार्य छ ।’
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update