Odapalika - The Fourth Estate - चौथो अंग
भक्तपुर नगरपालिकाको आयोजनामा १७ पालिकाबीच कबड्डी प्रतियोगिता

भक्तपुर । भक्तपुर नगरपालिकाले २९ फागुनदेखि ३ चैतसम्म अन्तरनगर महिला कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ । 

भोलिबाट नेपालमै पहिलोपटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा ७ वटै प्रदेशका १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्दैछन् । 

नगर प्रमुख सुनील प्रजापतिका अनुसार फागुन २९, ३०, चैत १, २ र ३ गतेसम्म भक्तपुरको सहिद स्मृति खेल मैदानमा आयोजना गर्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख प्रजापतिको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमिति गठन गरी तयारी गरेको प्रतियोगिताको नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्ने नगरपालिकाले जनाएको छ । 

अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई  १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रो र चौथोलाई  ५० हजार रुपैयाँका दरले नगद पुरस्कार पाउनेछन् । 

नगरपालिकाले पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराते, तेस्रो वर्ष एथ्लेटिक्स, चौथो वर्ष बुद्धिचाल, गत वर्ष खो खो खेलको प्रतियोगिता गरिसकेको छ । 

अन्तर नगर महिला कबड्डी प्रतियोगितामा दार्चुलाको महाकाली नगरपालिका, बैतडीको मेलौली नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका, बुटवल उपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिका, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बनेपाको पनौति नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका गरी १७ वटा पालिकाको सहभागिता रहनेछ ।    
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update