Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन 

सल्यान । कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ । 

गत १० असारमै बजेट पेश गरेर पारित गरि सक्नुपर्ने कानुनी व्यवस्था भएपनि पालिकाले दलीय विवादका कारण बजेट ल्याउन सकेको छैन । बजेट ल्याउन नसक्ने यो कर्णलीको उकमात्र पालिका हो । कर्णालीको यो एकमात्र पालिका हो । यो प्रदेशका ७८ पालिकाले बजेट ल्याइसकेका छन् । 

बजेट नल्याएका कारण कर्मचारीको तलव भत्ता वितरणदेखि विकासका योजनासमेत अलपत्र परेका छन् । 

गाउँ कार्यपालिका बैठक बसेर बजेट पास गरी कार्यक्रमहरु कार्यान्वयनमा लैजानु पर्ने बेला माओवादी केन्द्रका तर्फबाट निर्वाचित बहुमत जनप्रतिनिधिले अध्यक्ष र उपाध्यक्षप्रति असन्तुष्टि जनाउँदै बैठक निरन्तर बहिष्कार गरेपछि बजेट आउन नसकेको हो । 

७ वटा वडा रहेको पालिकामा अध्यक्ष र उपाध्यक्षबाहेक बहुमत अर्थात १० जना कार्यपालिका सदस्य माओवादी केन्द्रका तर्फबाट निर्वाचित छन् । पालिकाका अध्यक्ष र उपाध्यक्ष भने क्रमशः कांग्रेस र एमालेले जितेको छ । 

कांग्रेसका तर्फबाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीका अनुसार गत २७ जेठयता पटक पटक बैठकका लागि बोलाउँदा पनि बहुमत सदस्यहरु अनुपस्थित भएका कारण हालसम्म बजेट ल्याउन नसकिएको हो । 

‘२७ जेठदेखि १ साउनसम्म पटक पटक बैठक बस्न एजेण्डा पठाइयो, बैठकमा बोलाइयो तर बहुमत सदस्यहरु बैठकमा आए पनि निर्णय पुस्तिकामा सही नगर्ने, बहिष्कार गर्नेजस्ता काममा लागिरहनु भएकोले बजेट ल्याउन सकिएको छैन,’ अध्यक्ष वुढाथोकीले वडापालिकासँग भने । 

पटक पटक प्रयास गर्दापनि बजेट ल्याउन नसकेपछि अध्यक्ष र उपाध्यक्षले गाउँ कार्यपालिकाको लेटरहेड नै प्रयोग गरेर गत २ साउनमा बैठकमा उपस्थित हुन र बजेट पारित गराउन सहयोग गर्न संयुक्त अपीलसमेत गरेका छन् । 

हेर्नुहोस अपील 

361203994_656087266548621_7105397048650961782_n1691223993.jpg

360124187_656087313215283_4023014000144356932_n1691223993.jpg

१ साउनका लागि डाकिएको बैठकमा समेत बहुमत सदस्य अनुपस्थित भएपछि बजेटबारे छलफलसमेत हुन नपाएको अध्यक्ष वुढाथोकी बताउँछन् । 

साउन पहिलो सातासम्म पनि कार्यपालिका बैठक नै बस्न नसकेपछि अध्यक्ष बुढाथोकी भने यतिवेला आँखा र दाँतको उपचारका लागि काठमाडौँ गएका छन् । 

उपचार गरेर फर्किएलगत्तै पुनः दलहरुका प्रतिनिधिसँग बार्ता गरेर बजेट ल्याउन पहल गर्ने उनको भनाइ छ । 

उता असन्तुष्ट बहुमत सदस्यले भने अध्यक्ष र उपाध्यक्षले एकलौटी ढंगले योजना ल्याउने, बैठकका एजेण्डा तय गर्नेजस्ता काम गरेका कारण बजेट ल्याउने काममा अवरोध भएको बताउँदै आएका छन् । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update