Odapalika - The Fourth Estate - चौथो अंग
१ वर्षमा मेडिसिटीमा २३ जनाको मिर्गौला प्रत्यारोपण, महिलाको संख्या बढी 

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले १ वर्षको अवधिमा २३ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । 

अस्पतालले २०७९ को माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरू गरेको थियो । हालसम्म २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको जनाएको हो । मंगलबार अस्पतालमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले उक्त कुरा जनाएको हो ।

१७ वर्षदेखि ६५ वर्षसम्मका बिरामीको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । उनीहरूलाई आमाले छोरालाई, श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई, भिनाजुले सालीलाई, सासुले ज्वाइँलाई र सानोबुबाले छोरीलाई मिर्गौला दिएका छन् । 

विश्वमा सन् २००६ देखि मिर्गौला दिवस मनाउन सुरू गरिएको थियो । त्यसलगलै नेपालमा मिर्गौला प्रत्यारोपण सुरू भएको हो । प्रत्येक वर्ष मिर्गौला रोगीको संख्या बढ्दो क्रममा छ ।

जथाभावी औषधिको सेवन गर्दा बिग्रने दर बढ्दो रहेको अस्पतालको नेफ्रोलोजि तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेल बताउँछन् । उनका अनुसार हालसम्म अस्पताल आउने अधिकांश बिरामीको उच्च रक्तचाप र मधुमेह रोगका कारण मिर्गौला बिग्रने गरेको पाइएको छ ।

यस्तै, निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरूमा मिर्गौलाको समस्या बढी देखिएको छ ।

मेडिसिटीले हाल १२ देखि १५ लाख रूपैयाँमा मिर्गौलाको प्रत्यारोपण गर्दै आएको छ । ६ दिनको उपचार गरेर मिर्गौला प्रत्यारोपण गरिएका बिरामी पुन उहीँ समस्या लिएर  उपचारका लागि अहिलेसम्म अस्पतालमा नआएको उनको भनाइ छ ।

अस्पतालले २०७९ को माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरू गरेको थियो । हालसम्म २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिसकेका छन् ।१७ वर्षदेखि ६५ वर्षसम्मका बिरामीको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले उपचार गरेको २३ जना बिरामीलाई मिर्गौला दान गर्नेमा महिला धेरै छन् । जसमा १६ जना महिला र ७ जना पुरूषले दान गरेको मिर्गौला १६ जना पुरूष र ७ जना महिलाले ग्रहण गरेको अस्पतालले जनाएको छ ।

अस्पतालको तथ्यांकअनुसार बुटबल, पोखरा, काठमाडौँ, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेडौडा जस्ता ठाउँबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेको पाइएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी, एनेस्थेसिया, ट्रान्सप्लान्ट सर्जनको समूह मिलेर काउन्सिलिङदेखि अपरेशनसम्म गर्ने गरेका छन् ।

कार्यक्रममा ३ साता अघिमात्र मिर्गौला प्रत्यारोपण गरेका बिरामी रमेश कुमार चौधरीले उपचार पछि हालसम्म स्वास्थ्यमा समस्या नदेखिएको बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update