Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्‍यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताएका हुन् ।

‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो’, उनले भने, ‘म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।’

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण समेत गराए ।

‘त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ’, उनले भने । 

उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात भएपछि बाहिरिएको बताए । 

‘विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ ।  मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो’, उनले भने । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update