Odapalika - The Fourth Estate - चौथो अंग
टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति 

भोजपुर । साताको एक दिन श्रमदान गर्न प्रेरित गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको शैली पछ्याउँदै भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका जनप्रतिनिधिले पनि श्रमदान संस्कृतिको शुभारम्भ गरेका छन् । 

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर  विकास निर्र्माणको काम थालेका छन् । श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका काम गरिरहेको स्थानीयवासी बताउँछन् । 

श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै  यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको  वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिए ।

यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिनुभयो । ‘स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन । प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ । सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ,’ उनले भने ।

यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान सुक्न नदिन वनकेराको बिरुवा रोपिएको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए ।

यहाँ महिनामा दुईपटक बजार लाग्ने गर्छ । बजारको फोहोरका कारण वातावरण प्रदूषण हुन थालेपछि सरसफाइ अभियानपनि संगसंगै चलिरहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update