काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ ।
प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ ।
उक्त कामको प्रारम्भ ५ वटा वडाबाट भएको छ । वडा नं. ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरः÷खास्ती), वडा नं. ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं. १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नं. २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको छ । खोज कार्यबाट नर नरः –हाँडीगाउँ) मा ५२ वटा, खस्योर ÷ खास्ती (बौद्ध) मा ५० वटा, चाबही (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नामहरु अब प्रचलनमा ल्याइनेछन् ।
ठाउँको पुरानो नाम खोज्नु पर्ने कारणका बारेमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिदै गयो । काठमाडौँको पहिचान जोगाउन कार्यक्रम अगाडि बढाइएको हो ।’ नाम पुनरुत्थानका सम्भावित चुनौतीका विषयमा थप्दै संगतले भन्नुभयो, ‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । यी दुई नाममध्ये प्राचीन नामलाई ग्रहण गर्न स्थानीय समुदायसँग अनुरोध गर्दछु । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ । काठमाडौँको गरिमा यसैमा छ ।’
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानहरुको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनमा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चारकिल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद, इतिहासविद, पुरातत्वविद, स्थानीय पाका मानिस, जनप्रतिनिधिहरुसँग सोधेर प्रशोधन गरेको छ । अध्ययनका क्रममा ६० बर्ष उमेर समूहभन्दा माथिका पाका व्यक्तिहरुको स्मरण नक्साङ्कन (मेमोरी म्यापिङ्, त्यो क्षेत्रको नाम, त्यहाँ हुने क्रियाकलापलाई कसरी सम्झना गर्नुहुन्छ?) गरेको छ ।
अध्ययनका लागि स्थलगत अवलोकन भ्रमण र अन्तरवार्ताका क्रममा यही विषयमा अध्ययन गरिरहेका अन्य पक्षसँग पनि भेट भएको थियो । ती अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरु वास्तविकता पहिचान गरिएको छ । अध्ययन सहकार्य र यसबाट प्राप्त सूचनाको आधिकारिकताका विषयमा सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिईन ।
केन्द्रले ३ वटा ढाँचामा प्रतिवेदन बुझाएको छ । पहिलो प्रतिवेदनका रुपमा, दोस्रो तालिकाका रुपमा र तेस्रो जीआइएस (जिओग्राफिक इन्फरमेसन सिस्टम) मा आधारित नक्साका रुपमा छन् ।
ठाउँहरुको मौलिक नाम ७० बर्ष उमेर माथिका व्यक्तिहरुले मात्र उच्चारण गर्ने गरेको पाइयो । त्यसभन्दा तल्लो उमेर समूहका मानिसहरु अहिलेको नाम उच्चारण गर्छन् । सीआइयुडीका कार्यक्रम प्रबन्धक यशमान बज्राचार्यले भने, ‘वडा नं. १८ मा पर्ने नरदेवीका रुपमा प्रयोग गरिने नामलाई रैथाने मूलबासीहरु अहिले पनि ङेतत्वाः भन्छन् । यो स्थानको मौलिक नाम भने ङ्ततोल हो । यो शव्द व्युत्पत्ति भएर ङ्त भयो ।’
नाम राखिनुका कारणका बारेमा बज्राचार्य भन्छन््, रैथाने बासिन्दाले आफ्नो कला, संस्कृति र इतिहास झल्किने गरी आफूले बसोबास गरेको ठाउँलाई चिनाउने नाम राखेका हुन् ।
एउटै ठाउँका विभिन्न नाम रहनुको कारण उल्लेख गर्दै उनले काठमाडौँको जोशी ननीको उदाहरण दिँदै भने, ‘यसको भाषिक नाम काय्गूननि, तःखाछेँ, च्वकाछेँ हो । सांस्कृतिक नाम – जरुछेँ, धनतिर्थ, धार्मिक नाम – ताराननि, भिन्द्यः, ऐतिहासिक नाम थथु चाबहि, भौगोलिक नाम वन्ता, वंघः, यतखा, प्रशासनिक÷राजनैतिक नाम – भण्डारखाल, कोट, राजकुल (लाय्कू) हो ।
नाम अपभ्रंश भएर हुने क्रमले मौलिक नामको स्वरुप परिवर्तन भएको भाषाविद शरदवीर कसाः बताउँछन्। उदाहरण दिदैँ उनले वडा नं. ५ को अहिले कोटाल टोलका परिवर्तित नाम क्वेत्वाल भएको बताए । यसबाट क्वेतोल भयो । त्यसपछि कोटोल, कोटाल हुँदै कोटाल टोल भयो ।’
केही नामहरु नेपालीकरण र अंग्रेजीकरण पनि भएका छन् । छुमाः गणेद्यः, मुसे गणेश भयो । मागः, मालीगाउँ भयो । तिसापुखू, गहना पोखरी भयो । भ्याय्चाद्यः – भेडासीं भयो । न्हु सतक – न्यु रोड भयो ।