Odapalika - The Fourth Estate - चौथो अंग
पूर्व सभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । 

सुन तस्करीमा संलग्न आरोपमा उनीमाथि मुद्दा चलाउन आयोगले सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । 

इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । महरालाई आयोगले यसअघि नै बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

उक्त आयोगमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ ।

यस्तै, शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update