Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि पाइने लाभका विषयमा व्यापक प्रचार गर्नुसः मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् । शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारवाहीका विषयमा जानकारी लिँदै उनउले यस्तो निर्देशन दिएका हुन् ।

कोषका कर्मचारीसँग छलफल गर्दै मन्त्री अर्यालले कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिए । कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गरौँ । काम गर्न तपाईहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ । तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ मन्त्री अर्यालले भने ।

त्यस्तै, मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिए । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको बताउँदै उनले सचेतना जगाउनु पर्नेमा जोड दिए । 

‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न, टेलिभिजन हेर्न सक्दैनन् । त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै  जनतामा पुग्छ, त्यही माध्यमको प्रयोग गरी यसको बारेमा जनचेतना जगाउनु पर्छ,’ मन्त्री अर्यालले भने ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषका अहिलेको अवस्था, काम कारवाही र भावी योजनाको बिषयमा प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update