Odapalika - The Fourth Estate - चौथो अंग
अब रञ्जना लिपी युनिकोडमा पनि 

काठमाडौँ । नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ । रञ्जना नेपालको मौलिक लिपी हो । 

मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन सकेको थिएन । यसकारण लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रवर्धन गर्न युवाहरुले लिपीलाई प्रविधिसँग प्रयोग अनुकुल बनाउने काम थाले । 

क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण भयो । यही लिपी सार्वजनिक भएको हो । 

यो लिपीलाई इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ । 

लिपी सार्वजनिक गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, मौलिक लिपी विश्वव्यापीकरण भएको क्षणले सपना पूरा भएको, जीवनमा हर्षविभोर भएका पलहरुमा स्मरण भइरहने खुशी प्राप्त भएको बताइन् ।

सन् २०१९ मा जापानमा भएको लिपी सम्मेलनमा रञ्जना लिपीको प्रस्तुतिकरण भएको थियो । सम्मेलनको अन्त्यमा, लिपीलाई सबैले हेर्न सक्ने, देख्न सक्ने र प्रयोग गर्न सक्ने बनाउन प्रतिवद्धता गरिएको थियो । 

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफ्नै मौलिक लिपीमा भाव प्रकट गर्न सक्ने स्वरुपमा ल्याउनु ठूलो उपलब्धी भएको बताए । काठमाडौँ महानगरपालिकाले ठाउँको प्राचीन नाम पुनरुत्थान गर्दैछ । 

कार्यक्रममा बोल्दै इजरायलका लागि नेपालका पूर्व राजदूत डा. अञ्जना शाक्यले, महानगरपालिकाकी उपप्रमुख डंगोलको लिपी संरक्षण अभियान र प्राप्त लिपी क्वीन उपाधिका विषयमा चर्चा गर्दै लिपी पुस्तान्तरणमा उनको योगदान उच्च स्थानमा रहेको बताइन् ।

लिपीलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले लिपीसँग राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत विषयमा छलफल तथा गोष्ठीबाट पृष्ठपोषण लिइएको थियो । 

फाउन्डेशनका अध्यक्ष आनन्दकुमार महर्जनकाअनुसार रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी एक टाइपसँग सहकार्य गरेको हो । यसमा फन्ट विकासकर्ता तथागत विश्वास, सारंग कुलकर्णी, नुपुर दात्ये छन् ।

युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ । देवनागरिक युनिकोडका साथै नेबा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि अनुकुलित छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update