Odapalika - The Fourth Estate - चौथो अंग
कृष्णबहादुर महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रवी लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् । 

आइतबार बिहान आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर उनले महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्  ।

सुन प्रकरणमा संलग्न रहेकाले कारबाही गर्न भन्दै उच्चस्तरीय छानबिन आयोगले सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिएको जनाईएको छ । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

यस्तै, गृहमन्त्री लामिछानेले उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा खरिदविक्री प्रकरणमा सोधपुछका लागि बोलाउने समेत निर्देशन दिएका छन् । 

‘गृहमन्त्रीले  बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिनुभएको र त्यसका लागि सांसद विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउने सिआइबीका प्रमुखले गृहमन्त्रीलाई जानकारी दिनुभयो’, गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका प्रमोद न्यौपानेले भने । 

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । सोही प्रकरणमा विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरिएको थियो ।


 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update