Odapalika - The Fourth Estate - चौथो अंग
सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन

महोत्तरी । महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गा आफ्नो नाममा ल्याएर घरवारविहीन वनाउने र वन अतिक्रमण गर्ने घटना नौलो हैन ।

तर बर्दिवासका एक व्यक्तिले भने विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरेर आफ्नो बनाउने प्रयास गरेको खुलासा भएको छ ।

बर्दिवास–७ स्थित जनहित नन्दलाल माद्यमिक विद्यालयको १ बिघा ५ कठ्ठा ४ धुर जग्गामा लगाइएको झण्डै ६०० वटा रुख कटान गरी कब्जा गर्ने प्रयास गरेको खुलासा भएको हो ।

गाउँकै बृज विहारी महतोले जानाजान विद्यालयले लगाएको भिक्सका रुखहरु कटान गरी वेचविखन गरेको स्थानीयहरुले वताएका छन् । 

१८ इन्च देखि ४२ इन्चसम्मको रुख कटान गरी मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई विक्री गरेको  फेला परेको छ ।

विद्यालयको लालपुर्जामा रहेको उक्त रुखहरु रातारात कटान गरेर बिक्री गरेपछि स्थानीय आक्रोशित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वनगरप्रमुख बिदुर कार्कीले विद्यालयको जग्गा थाहा हुँदाहुँदै विद्यालयले नै लगाएको रुखहरु कटान गर्नु गलत भएको बताए ।

‘अपराध मनोवृत्तिका जसले अपराध गरेको भएतापनि सजायको भागिदार हुनुपर्छ,’ उनले भने, ‘अत्यन्तै खेदपूर्ण घटना भएको छ ।’

वडा नम्बर ६ का वडा अध्यक्ष पदम आलेमगरले नगरले यस्ता व्यक्तिहरुलाई संरक्षण गरेर अराजकता मच्चाउन खोजेको बताए । 

वडा नम्बर  का वडा अध्यक्ष भोरिल यादवले पनि विद्यालयको जग्गा जानाजान अतिक्रमण गर्नु गम्भीर अपराध भएको बताउदै दोषीलाई थप छानविन गरी कारवाही प्रक्रिया अघि बताउने बताएका छन् ।

यता स्थानियहरुले भने मनोवल उच्च वनाएर सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने अडान लिएका छन् ।

दोषीलाई तत्काल कारवाही नभए संघर्षका कार्यक्रम समेत तय गर्ने स्थानीयबासीले चेतावनी दिएका छन् । अभिभावक संघकी सदस्य जुनु यादवलले कारवाहीमा वेवास्ता गरेमा दवावमूलक कार्यक्रम गर्ने बताइन् । 

bardibas1710656882.jpg

रुख कटान गरी रातारात बेचेको आरोप लागेका वृज विहारी महतोले भने उक्त जग्गा आफ्नै भएको दावी गरेका छन् । वर्षौदेखि आफैले जोतभोग गरेको उक्त जग्गामा अहिलेसम्म विद्यालयले दाबी नगरेको बताउदै बाँकी रुखहरु पनि काटेर वेच्ने उनले बताए ।

स्थानीयको आरोप निराधार भएको बताउदै उक्त जग्गा विद्यालयको भए सजाय भोग्न तयार भएको उनको भनाइ छ । 

यसअघि पनि भूमाफियाहरुले बर्दिवास मै चुरेको सामुदायिक जंगल फडानी गरी रातारात लालपुर्जा नै आफ्नो नाममा बनाएका थिए । रम्तेल डाडाको संरक्षित जंगल फडानी गरी आफ्नो नाममा वनाएको उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update