Odapalika - The Fourth Estate - चौथो अंग
अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा पढाउने, डा. केएन स्वामीसँग भयो सम्झौता

काठमाडौँ । स्याङजाको अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा पढाउने भएको छ । आगामी शैक्षिकसत्रदेखि कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले सो विषय अध्ययन गर्ने भएका हुन् ।

आगामी शैक्षिक शत्रदेखि सस्कार शिक्षा पढाउनको लागि पूर्वीय दर्शनका अध्येता डा. केएन स्वामी (डा. स्वामी केशवानन्द) सँग सम्झौता भएको छ । यसका लागि डा. स्वामीले पाठ्यपुस्तक उपलब्ध गराउने छन् । 

आगामी शैक्षिक सत्रदेखि संस्कार शिक्षा अध्यापन गराउने तयारी गरिएको र यसको लागि डा. केएन स्वामीसँग सम्झौता नै भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । 

‘हामीले आगामी शैक्षिक सत्रदेखि हाम्रो गाउँपालिकाका विद्यालयहरुमा सस्कार शिक्षा अध्ययन गराउँदै छौं । यसका लागि आवश्यक पर्ने पाठ्य सामग्रीको लागि डा. केएन स्वामीसँग सम्झौता भएको हो,’ अध्यक्ष तिवारीले वडापालिकासँग भने ।

डा. स्वामीले विद्यालय पढ्ने विद्यार्थीलाई लक्षित गरेर सस्कार शिक्षाको पहिलो संस्करण प्रकाशित गरेका छन् । पहिला यो पुस्तकका विषयवस्तुको अध्ययन गराइनेछ । त्यसपछि डा. स्वामीले अर्काे संस्करण प्रकाशन गर्नेछन् भने अन्तिममा तेस्रो संस्करण प्रकाशन हुनेछ ।

गाउँपालिकाले पहिलो संस्करण कक्षा ६ मा, दोस्रो संस्करण कक्षा ७ मा र तेस्रो संस्करण कक्षा ८ मा अध्यापन गराउने व्यवस्था मिलाउनेछ ।

डा. स्वामीसँग भएको सम्झौता अनुसार गाउँपालिकाले पुस्तक खरिद गरेर विद्यार्थीलाई उपलब्ध गराउनेछ । पुस्तकको मूल्यभन्दा बाहेक थप कुनै शुल्क दिनु नपर्ने अध्यक्ष तिवारीले बताए ।

डा. स्वामीले पनि अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा अध्यापन गर्ने व्यवस्था मिलाउन लागेकोमा खुसी व्यक्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष तिवारीसँग सम्झौता भएपछि डा. स्वामिले सामाजिक संजाल एक्स (ट्विटर) मा लेखेका छन् ‘उहाँ अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी हुनुहुन्छ । उमेरले भर्खरको हुनुहुन्छ । आस्था, भावना र संस्कार छ । उहाँ संस्कार शिक्षा विषयको खोजीमा हुनुहुँदो रहेछ, म विषयीको खोजीमा । कुरो दुवैको मिल्यो । ०८१ देखि पालिकाभरी कक्षा ६९८ मा संस्कार शिक्षा लागु हुँदैछ ।’

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update