Odapalika - The Fourth Estate - चौथो अंग
पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान

काठमाडौँ । पर्वतको पैँयु गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । 

गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । 

उनका अनुसार हरेक वडामा न्यूनतम ५ जनाका दरले कर्मचारी राख्ने तयारी भएको छ । हरेक वडामा पाँच जनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्ने उनको भनाइ छ । 

केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । 

बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ । 

गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही २० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको हो ।

कक्षा ५ सम्मका विद्यार्थीलाई दिने दिवाखाजा कार्यक्रमलाई गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छ । पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने, कक्षा ८ को पालिकास्तरीय परीक्षालाई ‘एसइई’ ढाँचामा सञ्चालन गर्ने लगायतका निर्णय सभाले गरेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update