
काठमाडौँ । लुम्बिनी प्रदेश अन्तरगतको रुकुमपूर्वको सिस्ने गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ ।
गत वर्ष संचालन गरिएको कक्षाप्रति सबैको चासो बढेको र यसपाली पनि सुरु गर्नुपर्ने माग आएपछि लोकसेवा तयारी कक्षाको लागि बजेट विनियोजन गरेर कार्यक्रम संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।
‘गत वर्ष हामीले आधारभूत तहको लोकसेवा तयारी कक्षा संचालन गरेका थियौं । त्यसमा सर्वसाधारणको धेरै राम्रो प्रतिक्रिया आयो र यसपाली पनि संचालन गर्नुपर्छ भन्ने माग आयो । त्यसैले यसपाली एडभान्स कक्षा सुरु गर्ने तयारी भएको छ,’ अध्यक्ष रेग्मीले वडापालिकासँग भने ।
भदौदेखि कक्षा
गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्नको लागि आवश्यक तयारी सुरु गरिसकेको छ । साउन ५ गते सार्वजनिक सुचना प्रकाशित गरी सो कक्षामा सहभागी हुनेहरुलाई नाम दर्ता गर्न आव्हान गरिएको छ ।
साउन महिनाभर नाम दर्ता गर्ने र भदौ महिना लागेपछि तयारी कक्षा संचालन गर्ने गृहकार्य भएको अध्यक्ष रेग्मीले जानकारी दिए । प्रत्येक दिन १ घण्टाको दरले संचालन हुने कक्षा ६० दिनसम्म संचालन हुनेछ ।
‘साँझ ५ बजेदेखि ६ बजेसम्म कक्षा संचालन हुन्छ । यो कक्षा भदौदेखि ६० दिनसम्म चलाउँछौं,’ अध्यक्ष रेग्मीले भने ।
कसले पढाउँछन् ?
लोक सेवा तयारी कक्षाको लागि गाउँपालिकामा नै दक्ष जनशक्तिको अभाव नभएको अध्यक्ष रेग्मीको भनाइ छ । गाउँपालिकामा भएका उपसचिव र शाखा अधिकृत तहका कर्मचारीले पढाउने व्यवस्था मिलाइएको छ ।
शुल्क
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमबाट संचालन गरिने यो कार्यक्रमको लागि सहभागीले कुनै शुल्क तिर्नु पर्दैन । गाउँपालिका अध्यक्ष रेग्मीले दिएको जानकारी अनुसार लोक सेवा तयारी कक्षाको लागि गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट नै विनियोजन गरेको छ ।
‘गत वर्ष बजेट पनि कम थियो । यसपालि बजेट बढाएका छौं,’ उनले भने । पालिकाले गत आर्थिक वर्षमा लोकसेवा तयारी कक्षाको लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तयारी कक्षा भने ६० दिन नै संचालन गरेको थियो । सो तयारी कक्षामा करिब ६५ जना सहभागी भएका अध्यक्ष रेग्मीले जानकारी दिए । चालु आर्थिक वर्षमा भने गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
क–कसले लिन पाउँछन् कक्षा ?
भदौदेखि सुरु हुने लोक सेवा तयारी कक्षाको लागि निश्चित शर्त भने तोकिएको छ । सोही गाउँपालिकाको स्थायी बसोबास भएको व्यक्ति हुनुपर्ने शर्त गाउँपालिकाको छ । यस्तै, कम्तिमा पनि एसएलसी वा एसइई परीक्षा उतिर्ण गरेको र उमेर १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने शर्त । तर, महिला र अपाङ्गको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने पालिकाले जानकारी दिएको छ ।
के–के चाहिन्छन् कागजात ?
लोक सेवा तयारी कक्षामा सहभागी हुनको लागि केही कागजात पनि पेश गर्नुपर्ने गाउँपालिकाले सार्वजनिक गरेको सुचनामा उल्लेख छ । सो सुचनामा दिइएको जानकारी अनुसार व्यक्तिगत निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गरेर निवेदन दिनुपर्नेछ ।
गाउँपालिकाले गत वर्ष संचालन गरेको लोक सेवा तयारी कक्षामा सहभागी भएकाहरुलाई पहिलो प्राथमिकता दिने अध्यक्ष रेग्मीले जानकारी जानकारी दिए ।