Odapalika - The Fourth Estate - चौथो अंग
आगलागीबाट हतुवागढीमा एकै परिवारका ३ बालबालिकाको मृत्यु, प्रदेश सरकारले दियो १ लाख सहयोग

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा भएको आगलागीमा परेर मृत्यु भएका बालबालिकाको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेर राहत हस्तान्तरण गरेका हुन्  ।

यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले  आर्थिक सहयोग गरिएको छ । आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको थियो ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम गरेको मुख्यमन्त्री कार्कीले बताए ।

मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनको भनाई थियो । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update