Odapalika - The Fourth Estate - चौथो अंग
पाणिनीको बाली जोगाउन पोखरा र माछापुच्छ्रेका भोटे कुकुर

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको २ नम्बर वडाले स्थानीयले वन्यजन्तुबाट बाली जोगाउन किसानलाई कुकुर वितरण गरेको छ । 

स्थानीयको माग अनुसार वडा नम्बर २ पोखराथोकले किसानहरुको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ९ वटा कुकुर वितरण गरेको हो । 

वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरु समेतले धादिङ भोटे कुकुर क्लव अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नं २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर आज किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो । 

वडाध्यक्ष चन्द्रकान्त पौडेलले किसानको मागका आधारमा शुद्ध नश्लका उक्त कुकुर वितरण गरिएको बताए । उनका अनुसार बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी भोटे कुकुर वितरण गरिएको हो ।

बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । पोखराथोकका किसान भाष्करराज पौडेलले भने, ‘वन्यजन्तुबाट खेतीपाती तथा फलफुल जोगाउन मुस्किल छ । बाँदर तथा वन्ययजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी भएका छौँ ।’

सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डीएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । चालिसदेखि ६० दिनसम्मका कुकुरहरुको खरिद मूल्य प्रतिकुकुर ३५ हजार रुपैयाँ छ । 

बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरुको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकृत रोमाकान्त न्यौपानेले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update