Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरमा अब बिहानै बैठक, विभागीय प्रमुखलाई वडा हेर्ने अख्तियारी 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियारले हरेक दिन विहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन् ।

विभागस्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन यस प्रकारको तालिका बनाइएको उनले जानकारी दिए । 

‘बैठक संक्षिप्त हुनेछ । बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकतामाभन्दा विषयमा केन्द्रीत गरिनेछ ।’ बैठक योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘यसबाट प्राप्त हुने सूचनाले प्रगतिमा पुग्न सघाउ पुग्नेछ । यस्तै देखिएका बाधा फुकाउन सहज वातावरण बन्नेछ ।’

विभागका प्रमुखहरुलाई वडा सहजीकरणको जिम्मेवारी

बुधवारको बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले वडाहरुले प्राप्त गरेको वित्तीय प्रगतिको ग्राफ प्रस्तुत गरे । ‘वडाका काम महानगरबाट अलग छैनन, अलग्ग होइनन् । यसकारण त्यहाँको सम्भावनालाई उपयोग गर्नुपर्छ । चुनौतीको समाधान गर्नुपर्छ । समस्याको समाधान गरिदिनु पर्छ । यसका लागि एकजना विभागीय प्रमुखलाई २ वटा वडाको जिम्मेवारी दिएको छु’ उनले भने, ‘अहिलेसम्म देखिएको प्रगतिको अङ्क तपाईँहरुले काम थाल्ने विन्दु हो । तपाईँको सहजीकरणपछि यसअघिको विकास गतिले कति फरक पार्छ, तपाईँको उपस्थितिको मापन सूचक हो ।’

प्रशासन विभागका प्रमुख दीपक अधिकारीलाई वडा नं. वडा नं. ६ र १६, सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेलाई वडा नं. ५ र ७, सहरी विकास विभागका प्रमुख अर्चना श्रेष्ठलाई वडा नं. २ र १७, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलाई वडा नं. १२ र १५, राजस्व विभागका प्रमुख ध्रुव काफ्लेलाई वडा नं. ८ र १४ को जिम्मेवारी दिइएको छ । यसैगरी वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीलाई वडा नं. ९ र १० को जिम्मेवारी दिइएको छ । 

खरिद एकाइका प्रमुख नमराज ढकाललाई वडा नं. ३ र ११, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्यलाई वडा नं. २१ र २९, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीलाई वडा नं. २० र ३०, आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरेलाई वडा नं. १ र ३१, वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठलाई वडा नं. ४ र २६, सार्वजनिक  निर्माण विभागका प्रमुख सुरज शाक्यलाई वडा नं. २२ र ३२ को जिम्मेवारी दिइएको छ ।   

सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालालाई वडा न. १३ र १९, सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईलाई वडा नं. २५ र २८, स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनलाई वडा नं. १८ र २७, शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेललाई वडा नं. २३ र २४ को जिम्मेवारी दिइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update